• ९ कात्तिक २०८२, आइतबार

सेप्ली झरनाको पर्यटकीय झोलुङ्गे पुल जोखिममा

blog

शेरबहादुर राई

ओखलढुङ्गा, कात्तिक ९ गते । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–८ मा अवस्थित प्रमुख पर्यटकीय गन्तव्य सेप्ली झरना जाने झोलुङ्गे पुल अहिले जोखिमपूर्ण बनेको छ । 

माथिबाट आएको पहिरो र ढुङ्गा खस्दा पुलको एकछेउ भत्किएपछि आवत जावत जोखिमपूर्ण बनेको हो । चाडपर्वको बेला परिवारसहित झरना घुम्न गएका दीपक राईका अनुसार पुल क्षतिग्रस्त भएपछि पनि स्थानीय र पर्यटकहरू जोखिम मोलेरै वारपार गर्न बाध्य छन् । राईले भन्नुभयो, “खोलामा पानीको बहाव बढी भएकाले तर्न सकिँदैन, त्यसैले पुलकै क्षतिग्रस्त भागमा जोगिएर पार गर्नुपरेको छ ।” 

त्यस्तै, स्थानीय आशा राईले पनि पुल भत्किएपछि यात्रुहरू डर र जोखिम बिच आवतजावत गरिरहेको बताउनुभयो । “सेप्ली झरना घुम्न आउने धेरैले पुलको अवस्था देखेपछि फर्किन्छन्, जसले यहाँको पर्यटनमा असर पारेको छ,” राईले भन्नुभयो । आर्थिक वर्ष २०८०-८१ मा निर्माण गरिएको उक्त पुल तीन महिनाअघि माथिबाट खसेको ढुङ्गाले क्षति पुर्‍याएको थियो । मोलुङ गाउँपालिका-७, पात्ले र वडा नं.८ रागादिपका स्थानियले यो पुल प्रयोग गर्ने गर्दछन् । 

मोलुङ-८ का वडाध्यक्ष सुधीर राईका अनुसार वर्षायाममा सडक अवरुद्ध भएकाले तत्काल मर्मत सम्भव नभएको हो । वडाध्यक्ष राईले भन्नुभयो, “सडक सञ्चालनमा आएलगत्तै पुल मर्मत कार्य सुरु गर्ने तयारी भइरहेको छ ।” हाललाई पुल अत्यन्त जोखिमपूर्ण भएकाले सतर्कता अपनाउन र सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको छ । सेप्ली झरना ओखलढुङ्गाको प्रमुख प्राकृतिक आकर्षण मध्ये एक हो । यहाँ स्थानीय, आन्तरिक र बाह्य पर्यटकहरूको उल्लेखनीय आगमन हुने गर्दछ ।