गुल्मी, कात्तिक ९ गते । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उहाँले बारीमा किबीका बोट देख्न सकिन्छ । उहाँले किबी खेतीबाट मात्रै वार्षिक रु. छ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुभयो ।
सत्यवती गाउँपालिका–८ मा वडा सदस्यसमेत रहनुभएका थापाले विगत ११ वर्षअघि व्यावसायिक रुपमा किबीखेती गर्न सुरु गर्नुभएको हो । उहाँले हाल आठ रोपनीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो र मोन्टी गरी छ वटा किबीका जात लगाउनुभएको छ ।
जलवायु र भौगोलिक संरचनाका हिसाबले भार्से किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उहाँले गत वर्ष किबी र बिरुवा गरी रु. छ लाख आम्दानी गर्नुभएको थियो । अहिले गत वर्षको तुलनामा अझै राम्रो हुने अपेक्षा गरिएको थापाले बताउनुभयो ।
किबीले खेती गरेको तीन वर्षबाटै उत्पादन दिन थालेपछि थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको होे । उहाँको बारीमा एउटै बोटमा ५० देखि एक क्विन्टलसम्म किबी फल्ने गरेको छ । बारीमा अहिले १५० वटा किबीका बोट छन् ।
सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि रु. आठ लाख खर्चेर व्यावसायिक रुपमा किबीखेती गर्न सुरु गर्नुभएको हो । “त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएको कारण एकपटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु”, उहाँले भन्नुभयो । किबीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने भएको उहाँले बताउनुभयो । “वर्षमा दुई पटक हाँगाहरु काँटछाँट गर्नुपर्छ, गोठेमल मात्र प्रयोग गर्दैैै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ”, थापाले भन्नुभयो ।
उत्पादित किबी बजारमा रु. २०० देखि ३०० सम्ममा बिक्री भइरहेको छ । भार्सेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गर्दछ । उहाँले किबीलाई प्रशोधन गरेर गत वर्षदेखि किबीको वाइन बनाउन सुरु गर्नुभएको छ । बजारमा किबीको वाइनको राम्रो माग भएको थापाले बताउनुभयो । किबी बिक्री गर्न बजारको खासै समस्या नभएको थापाको भनाइ छ । उहाँले पाँच वर्षदेखि किबीको नर्सरीसमेत गर्दै आउनुभएको छ । उहाँको नर्सरीमा यतिबेला आठ हजार किबीका नयाँ बिरुवा छन् । एउटा बिरुवालाई रु. १५० देखि २०० सम्म पर्ने गर्दछ ।
सत्यवती गाउँपालिकाले भार्से गाउँलाई किबीको पकेटक्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । किबीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा विरुवामा अनुदान उपलब्ध गराउँदै आएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो ।
किबीका अन्य जातमध्येमा गोल्डेन र रेड किबी सबैभन्दा राम्रो मानिन्छ । यसको मूल्य अन्य जातको किबीको भन्दा रु. एक सय बढी पर्दछ । यस पटक गोल्डेन किबीले राम्रो मूल्य पाएको छ । भार्सेमा पाँच वटा किबी समूह रहेका छन् । उक्त समूहमा हाल ८० जना कृष आबद्ध छन् । त्यहाँका कृषकको घरमा दशदेखि एक सय ५० बोटसम्म किबीका बोट छन् । उक्त क्षेत्रमा अहिले ४० हेक्टर क्षेत्रफलमा किबी उत्पादन हुँदै आएको छ । रासस