विष्णुप्रसाद पोखरेल
दमक, कात्तिक ९ गते । झापामा छठ पर्वको तयारी तीव्र रुपमा भएको छ । भारतसँग सीमा जोडिएको झापाको भद्रपुर र मेचीनगरमा वर्षौदेखि नेपाल र भारतका नागरिकहरुले संयुक्त रुपमा छठ पर्व मनाउने गरेका छन् । एकआपसको सद्भाव र भाइचारा साटासाट गर्दै दुई देशका नागरिकले छठ मनाउने गरेकाले यसलाई महत्त्वका साथ हेरिने गर्छ ।
दुई देशको सीमा खोला मेचीमा मात्र नभएर जिल्लाका अधिकांश खोलाहरुमा घाट निर्माण हुने गरेका छन् । दमकको रतुवा खोलामा पनि सयौँ घाटहरु निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कन्काई, विरिङ, कमल, गेउरीया लगायतका खोलाहरुमा समेत घाट निर्माण गरेर सामूहिक पूजा अर्चना हुने गरेको छ ।
घाट निर्माण, बिजुलीबत्तीको व्यवस्थापन, खानेपानी, अस्थायी शौचालय निर्माणलगायतका काममा स्थानीय सरकारले सहयोग गर्ने गरेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यको उपसनासहित मनाइने पर्वमा बेलुका र बिहानको राति खोला किनारमा धेरै भिड हुने भएकाले सुरक्षा चिन्ता भने बढेको बताइएको छ ।
भद्रपुरको मेची किनारमा पूर्वकै सबैभन्दा धेरै भक्तजनहरुको उपस्थिति हुने भएकाले यहाँ स्थानीय प्रशासनले विशेष सुरक्षा अवलम्बन गर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बिहान बेलुका संयुक्त गस्ती गर्दै आएका छन् ।
दमक, बिर्तामोड, भद्रपुरलगायतका प्रमुख बजार क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको प्रहरीको भनाइ छ । सीमा क्षेत्रमा हुने चहलपहल र गतिविधिलाई दुबै देशका सुरक्षाकर्मीले समन्वय गरेर निगरानी राख्दै आएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । भारतको विहारमा चुनावको समय भएकाले त्यहाँ सीमामा पनि कडाइ गरिएको छ ।