• ९ कात्तिक २०८२, आइतबार

मकवानपुरगढीमा चितुवा आतङ्क

blog

मकवानपुरगढी–५ लिङ्गे डाँडाका कृष्णबहादुर घलानले पालेको बाख्रा जङ्गली जनावरले मारेको अवस्था । तस्बिर सौजन्य : अमर लामा मोक्तान

अनिल पराजुली
हेटौँडा, कात्तिक ९ गते ।
मकवानपुरको मकवानपुरगढीमा चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीय त्रसित हुनुभएको छ । मकवानपुरगढी गाउँपालिका– ५ को माथिल्लो भेगस्थित सोलिथुम, नयाँगाउ, लिङ्गे डाँडा र खैरेनीमा चितुवाका कारण स्थानीय त्रसित हुनुभएको हो ।

जङ्गली जनावरले यहाँ बुधबार चैन डाँडाका बुद्धिलाल ब्लोनको चरणको बेलामा बाख्रा खाएको छ । बिहीबार नयाँ गाउँमा घरमै चोकर पानी खाइरहेको एउटा बोका र शुक्रबार साँझ ४ बजेको समयमा मकवानपुरगढी वडा नं. ५ लिङ्गे डाँडाका कृष्ण बहादुर घलानले पालेको बाख्रा जङ्गली जनावरले खाएको स्थानीय अमर लामा मोक्तानले जानकारी दिनुभयो ।

स्थानीय मोक्तानका अनुसार घरमा पालेको खसी बाख्रा जङ्गली जनावरले मार्न थालेपछि आफूहरू त्रसित भएको बताउनुभयो । अब मान्छेलाई पनि आक्रमण नगर्ला भन्न सकिन्न त्यसैले गोठालो जाँदा, घरबाट बाहिर कतै जाँदा एक्ला एक्लै नहिँड्न अनुरोध समेत गर्नुभएको छ । उहाँले मकवानपुरगढीमा घरपालुवा जीवजन्तु मार्न थालेपछि तत्कालै सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गराउनुभएको छ ।

मकवानपुरगढी सब डिभिजनका अधिकृत निश्चल घिमिरेले अहिले घरपालुवा जनावर मार्ने चितुवा हुन सक्ने प्रारम्भिक अनुमान गर्नुभएको छ । उहाँले प्राविधिक टिमसँग सहकार्य, समन्वय पश्चात् स्थलगत अनुगमन गरेर मात्रै बाघ वा चितुवा के हो भन्न सकिने जानकारी दिनुभयो । २०८१ चैत अन्तिममा मकवानपुरगढी गाउँपालिका–३ र ४ नम्बर वडामा चितुवाले आतङ्क फैलाएको थियो । डिभिजन वन कार्यालयले जडान गरेको क्यामरामा मकवानपुरगढी–३ मा चितुवा भिडियो कैद भएको थियो ।