रामकृष्ण बोहरा
बागलुङ, कात्तिक ८ गते । जिल्लाको काठेखोला गाउँपालिका–७, रेश र बागलुङ नगरपालिका–५, मालिकाका महिलालाई बाख्रा उपहार दिइएको छ । काठेखोला, बागलुङ नगरपालिका र हेफर इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा बिवाइसीले रेश र नेपाल गाजा फाउन्डेसनले मालिकाका किसानलाई बाख्रा उपहार दिएको हो ।
गतवर्ष गठन भएका तीन मुल समूहहरू नमूना स्वाबलम्बी महिला समूह, प्रगतीशील महिला स्वाबलम्बी समूह र सिर्जनशील महिला स्वाबलम्बी समूह मालिकाले तयार पारेका नयाँ समूह र उद्यमी महिलालाई बाख्रा वितरण गरिएको हो । हाल गठन भएको झाप्राखर्क स्वाबलम्बी महिला समूह र अन्य महिलालाई एक–एक वटा पाठी वितरण गरिएको छ ।
कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास आत्मनिर्भर बागलुङ कार्यक्रममार्फत रेश र मालिकामा बाख्रा उपहार कार्यक्रम गरिएको छ । नमूना आत्मनिर्भर निर्भर समूहले दिएको बाख्रालाई पालनपोषण गरेर उत्पादन बढाउन पहल गर्ने उद्यमी महिला मिरा नेपालीले बताउनुभयो ।
बागलुङ नगरमा चा रसय बाख्रा उपहार दिने कार्यक्रम रहेको फाउन्डेसनकी कार्यक्रम व्यवस्थापक ममिता पुनले बताउनुभयो । एउटा समूह आत्मनिर्भर बनेर अर्को समूहलाई बाख्रा वितरण गर्दै आत्मनिर्भरको बाटोमा हिँडाउन सफल भएको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ बताउनुहुन्छ ।
बाख्रा उपहार कार्यक्रमले जीवनमा आर्थिक विकास ल्याउन पहल गर्ने र आफ्नो दायित्व सम्झने वातावरणको विकास गर्नुका साथै लगानी अभावमा बसेका स्थानीयलाई उत्पादन बढाउन समेत अभिप्रेरित गर्ने श्रेष्ठको भनाइ छ ।
पहिलो चरणमा आत्मनिर्भर कार्यक्रम सुरु गरेको नगरपालिकाले आमा र बच्चाका लागि पोषणको कार्यक्रम ल्याउने तयारी गरेको छ । यसअघि ल्याएको नगरको छोरी कार्यक्रमले पनि धेरै बालिकाहरूका लागि बिउ पुजी बनेको भन्दै आगामी दिनमा कृषि र पशुपालन क्षेत्रमा लाग्ने महिलालाई प्रोत्साहनका कार्यक्रममा जोड्ने नगरपालिकाको योजना छ ।
यस्तै, कृषि र पशुपालनमार्फत सामाजिक र आर्थिक सशक्तीकरणको अभियानमा जुटेका रेशका मूल महिला समूहले बहिनी समूहलाई बाख्रा उपहार प्रदान गरेका हुन् । सङ्घर्षशील, शुभलक्ष्मी र उद्यमी स्वाभलम्बी महिला समूहले उपहार समूहले सङ्घर्षशील, सयपत्री, सुसेली, लगनशील, सूर्यमुखी र शुभलक्ष्मी महिला समूह बाख्रा उपहार दिएका हुन् ।
परियोजनामार्फत प्राप्त बाख्राबाट पहिलो सन्तानको रूपमा उत्पादन भएको पाठालाई सात महिनासम्म पालेर हुर्काएपछि किलो र दाम्लोसहित उपहार समूहलाई प्रदान गरिएको सङ्घर्षशील महिला समूहकी सदस्य सीमादेवी थापाले बताउनुभयो ।
बाख्रापालनबाट जीविकोपार्जनमा सहज हुनुका साथै छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन र केही रकम बचत गर्न सकेको थापाले अनुभव सुनाउनुभयो । ‘‘समूहमा आबद्ध महिलालाई आर्थिक रूपमा आत्मनिर्भर र सम्पन्न बनाउन बाख्रा उपहार दिएका हौं’’ थापाले भन्नुभयो ।
बिवाइसीले व्यवस्थित खोर निर्माण, दाना र घाँसका लागि किम्बुका बिरुवा वितरणमा साथ दिन थालेपछि रेशका महिला व्यावसायिक रूपमा बाख्रापालनमा जोडिएका छन् । केही वर्ष अघिसम्म एक–दुई बाख्रा पालेर निर्वाहमुखी बनेका महिलाहरू स्थानीय सरकार, हेफर र बिवाइसीले साथ दिन थालेपछि व्यावसायिक बाख्रापालनमा जोडिएको थापाले बताउनुभयो । परियोजनाले रेश गाउँलाई बाख्रापालनको पकेट क्षेत्र बनाउने गरी काम गरिरहेको छ ।