बैङ्कक, कात्तिक ८ गते । थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।
विज्ञप्तिमा अनुसार मुमा महारानी सिरिकितको केही समयदेखि रक्त सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेका थियो । मेडिकल टोलीको निरन्तर प्रयासका बाबजुद उहाँको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको र अन्ततः अक्टोबर २४, २०२५ को राति ९ः२१ बजे बैङ्ककस्थित थाई रेड क्रस सोसाइटी अन्तर्गतको चुलालोङ्गकोर्न अस्पतालमा शान्तिपूर्वक देहावसान भएको उल्लेख गरिएको छ ।
मुमा महारानी आमा सिरिकित कितियाकारा सन् १९३२ अगस्ट १२ मा जन्मिनु भएको हो । उहाँको जन्मदिन थाइल्यान्डमा मातृ दिवसका रूपमा राष्ट्रिय बिदाका साथ मनाइन्छ । केवल १८ वर्षको उमेरमा उहाँले तत्कालीन राजा भूमिबोल अदुल्यादेजसँग विवाह गर्नु भएको थियो । राजा भूमिबोल चकरी वंशका नवौँ सम्राट (राम नवौँ) हुनुहुन्थ्यो र उहाँको शासनकाल विश्वकै सबैभन्दा दीर्घकालीन राजामध्ये एक रह्यो ।
महारानी आमा सिरिकित पनि त्यसै गरी विश्वकी सबैभन्दा लामो समयसम्म सेवा गर्ने महारानीका रूपमा सम्मानित रहनु भएको थियो । राजा भूमिबोलको सन् २०१६ मा निधन भएपछि उहाँका पुत्र महा भाजिरालोङ्कोर्नले सिंहासन सम्हाल्नुभएको थियो । मुमा महारानी सिरिकित सन् २०१२ मा आएको स्ट्रोकपछि स्वास्थ्य समस्याका कारण सार्वजनिक रूपमा विरलै देखा पर्नुहुन्थ्यो ।
उहाँले जीवनकालभर थाइल्यान्डका सामाजिक, सांस्कृतिक र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिनु भएको थियो । विशेष गरी दक्षिणी थाइल्यान्डमा बौद्ध समुदाय र विभिन्न संस्थाप्रति सहयोग पुुर्याउँदै थाई हस्तशिल्प र ग्रामीण महिलाको आर्थिक सशक्तीकरणका लागि ‘सपोर्ट फाउन्डेसन’ स्थापना गरी उनीहरूलाई उत्पादन र बजार पहुँचमा सशक्त बनाउन सहयोग गर्नु भएको थियो ।
मुमा महारानी सिरिकितले आफ्ना स्वर्गीय पतिले प्रारम्भ गर्नु भएको सयौँ विकास परियोजनाको नियमित निरीक्षण गर्नुहुन्थ्यो । उहाँको भव्यता, आकर्षक व्यक्तित्व र उत्कृष्ट फेसन–बोधका कारण उहाँ १९६० को दशकमा अन्तर्राष्ट्रिय ‘बेस्ट-ड्रेस्ड’ सूचीमा चार पटकसम्म चयन हुनुभएको थियो, जसलाई न्युयोर्क टाइम्स ले ‘विश्वकी सबैभन्दा स्टाइलिश व्यक्तित्व मध्ये एक’ भनेर चित्रण गरेको थियो ।
थाइल्यान्ड संवैधानिक राजतन्त्र भएकोले मुमा महारानीसँग प्रत्यक्ष राजनीतिक शक्ति नभए पनि उहाँको उपस्थितिले देशको सामाजिक र सांस्कृतिक जीवनमा गहिरो प्रभाव पारेको व्यापक रूपमा स्वीकार गरिन्छ । मुमा महारानी आमा सिरिकितका एक छोरा-राजा महा भाजिरालोङ्कोर्न, तीन छोरी राजकुमारी ऊबोलरताना, राजकुमारी महा चक्री सिरिन्धोर्न र राजकुमारी चुलाभोर्नका साथै एक बहिनी-बुस्बा कितियाकारा सथानपोङ रहनु भएको छ । थाइल्यान्ड दरबारले मुमा महारानीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रव्यापी श्रद्धाञ्जली कार्यक्रमको तयारी गरिरहेको जनाएको छ । रासस/एएनआई