सलिम मियाँ
बिजुवार, कात्तिक ८ गते । भाइटीकाको भोलिपल्ट, प्यूठान नगरपालिका ७ पुण्यखोलामा आयोजित ऐतिहासिक डल्ले सराय नाच सकिएको छ ।
जिल्लाभर प्रख्यात क्वाडी चितिखोला र क्वाडी बगैंचा नाचमध्ये डल्ले सराय नाचलाई विशेष महत्वका साथ हेरिन्छ । स्थानीय किम्बदन्तीअनुसार, वर्षौंअघि गाउँमा एक मानवरूपी राक्षसले वर्षेनी एक जनाको मासु खाने गरेको कथा छ ।
त्यो परम्परा तोड्दै एक साहसी युवकले आफ्ना बाबु नपठाई पुन्यखोला डल्लेमा पुगेर राक्षसको वध गरे । त्यस घटनापछि चार गाउँका मानिसहरूले तरबार बोकी ‘वाख्यै, वाख्यै’ भन्दै नाचेर उत्सव मनाएका थिए । त्यही प्रसङ्ग सम्झँदै यो नाचको परम्परा आजसम्म निरन्तर रहेको मानिन्छ ।
डल्ले सराय नाचको विशेषता भनेकै यसको सामूहिकता हो । गाउँका दिदीबहिनीहरूले लगाइदिएको फूलको मालामा सजिएर युवा र अधबैंसे सहभागी हुन्छन् । स्थानीयको भनाइमा यो नाच दुःख दिने राक्षसलाई बध गरेको खुसीमा मनाइने उत्सव हो ।
ऐतिहासिक अभिलेख नहुँदा कहिले सुरु भएको भन्ने एकिन छैन । तर लोकश्रुतिअनुसार यो परम्परा तेह्रौँ शताब्दीको अन्त्यतिर सुरु भएको बताइन्छ । पछिल्ला वर्षहरूमा यस नाचलाई प्रतियोगितात्मक रूपमा सञ्चालन गर्ने परम्परा भने २०७० सालमा तत्कालीन गृहमन्त्री बामदेव गौतमको पहलमा सुरु भएको हो ।
यस वर्षको प्रतियोगितामा आठ समूहले सहभागिता जनाएका थिए । आयोजक प्यूठान नगरपालिकाले प्रथम हुने समूहलाई एक लाख रुपियाँ, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपियाँको पुरस्कार प्रदान गरेको छ ।
नगरपालिकाका प्रवक्ता तथा वडा ४ का अध्यक्ष सुमनराज श्रेष्ठका अनुसार सहभागी सबै समूहलाई प्रोत्साहनस्वरूप २०–२० हजार रुपियाँ दिइएको छ । श्रेष्ठले भन्नुभयो, ’डल्ले सराय नाच प्यूठानी सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा हो । यसलाई अब सांस्कृतिक पर्यटनको प्रमुख आकर्षणका रूपमा अगाडि बढाउने नीति नगरपालिकाले लिएको छ ।’
तिहारको भाइटीकाको भोलिपल्ट शुक्रबार दिनभर गाउँमा गुञ्जिएको ढोल, मादल र ठट्यौली आवाज साँझ ढल्दै जाँदा विस्तारै थामियो । तर पुन्यखोलाको आकाशमा अझै पनि गुञ्जिरहेजस्तो लाग्छ ‘वाख्यै... वाख्यै..’ स्थानीयको भनाइ छ ।