• १३ असोज २०८१, आइतबार

कैैलालीका विपद् प्रभावित किसानलाई राहत वितरण गरिदैं

blog

कैलालीमा बेमौसमी वर्षापछि आएको बाढीले गरेको क्षति । तस्बिरः अविनाश चौधरी

धनगढी, असार १९ गते । गत वर्ष कात्तिकमा आएको बाढीबाट धानबालीमा क्षति व्यहोरेका कैलालीका विपद् प्रभावित किसानलाई राहत वितरण गर्न थालिएको छ । 

नेपाल सरकारको राहत मापदण्ड र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार जिल्लाको १३ वटै पालिकाका किसानलाई राहत वितरण गर्न थालिएको हो । जिल्ला प्रशासन कार्यालयले केही दिन पहिले नै सबै स्थानीय तहमा रकम पठाए पनि स्थानीय तहले आर्थिक वर्षको मसान्तमा राहत रकम किसानलाई बाँडिरहेका छन् । 

असार २५ गतेभित्रै सबै स्थानीय तहका किसानलाई राहत रकम वितरण गरेर सक्कल कागजात प्रशासनमा बुझाउन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । ‘कतिपय स्थानीय तहले बाँडिसकेका छन् र कतिपयले बाँडिरहेका छन्’, उहाँले भन्नुभयो । ‘जेहोस, असार २५ भित्रै सबै स्थानीय तहले किसानलाई राहत रकम दिइसक्नु पर्ने जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्देशन भएको छ ।’ 

गतवर्षको असोज अन्तिम र कात्तिक पहिलो साता भएको बेमौसमी वर्षा र त्यसपछि आएको बाढीले जिल्लाका किसानको धानबालीमा ठूलो नोक्सान गरेको थियो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभरिका ८३ हजार ३५९ किसानको ४८ हजार १२४ हेक्टरमा लगाइएको धानीबाली स्वाहा भएको थियो । भित्र्याउन तयार भएको धानबाली गुमाएका किसान सात महिना पछि बल्ल राहत रकम पाउन लागेका छन् । 

स्थानीय तहले किसानका बैङ्क खातामा राहत रकम हाल्ने कार्य गरिरहेको जनाइएको छ । किसानका खातामा रकम राख्ने कार्य भइरहेको उल्लेख गर्नुहुँदै कैलारी गाउँपालिकाका कृषि शाखा प्रमुख मैँया चौधरीले एक÷दुई दिनभित्रै सबै किसानको खातामा राहत रकम गइसक्ने बताउनुभयो । ‘हाम्रो पालिकाले पनि किसानको खातामा राहत रकम हाल्ने कार्य गरिरहेको छ’, उहाँले भन्नुभयो । सो गाउँपालिकामा सबैभन्दा बढी किसानको धानबालीमा नोक्सान भएको थियो । यसैगरी, भजनी नगरपालिकाले पनि राहत रकम किसानको खातामा राख्ने कार्य गरिरहेको छ । 

प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार किसानलाई राहत रकम दिइदैछ । सो समितिले एकदेखि १० कट्ठासम्म क्षति भएका साना किसानलाई प्रति कट्ठा ३२५ रुपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी, १० देखि ६० कट्ठा अर्थात तीन बिघासम्म नोक्सान भएका मझौला किसानलाई प्रति कट्ठा १२५ रुपियाँका दरले राहत रकम दिने निर्णय गरेको छ । यस्तै, तीन बिघाभन्दा बढी नोक्सान भएका ठूला किसानलाई प्रति कट्ठा ७५ रुपियाँका दरले राहत रकम दिने निर्णय गरेको छ । सोही निर्णय अनुसार किसानको खातामा राहत रकम जम्मा गरिदैंछ । 

कैलालीका किसानलाई राहत वितरणका लागि २१ करोड ९७ लाख रुपियाँ नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयमा पठाएको थियो । पहिलो चरणमा सात करोड र कम हुने देखिएपछि दोस्रो चरणमा १४ करोड ९७ लाख रुपियाँ पठाइएको जनाइएको छ । 

राहत वितरणको लागि रकम केही पहिले नै आएको भए पनि विविध कारणले वितरण गर्नमा ढिलाइ हुन गएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताउनुभयो । ‘प्रभावितको तथ्याङ्क सङ्कलन, अध्ययन, छानविन, तोकिएको मापदण्ड अनुसार प्रक्रिया पूरा गर्न समय लागेका कारण राहत वितरण गर्न ढिलाइ भएको हो’, उहाँले भन्नुभयो । 

Author

अविनाश चौधरी