राजन रावत
हुम्ला, कात्तिक ७ गते । सिमकोट गाउँपालिका–७, डाँडाफयामा भालुले आतङ्क मच्चाएको छ । सो गाउँका स्थानीयको घरआँगनमै भालु पसेर मौरीघार तोडफोड गरी मह खाएर नोक्सानी गर्नेगरेको छ ।
यो महिनामा मह निकाल्ने मुख्य सिजन चलिरहेका बेला भालुले मौरीघार नष्ट गरेपछि किसानहरू चिन्तित भएको स्थानीय मन्दिर सिंहले बताउनुभयो । मौरीको मह बिक्री गरेर घरखर्च चलाउने योजना बनाएका किसानहरू अहिले आर्थिक नोक्सानीमा परेको उहाँले बताउनुभयो ।
स्थानीय मौरीपालक देवी शाहीका दुई वटा, धनबहादुर शाही (सार्की) का तीन वटा र जङ्गसुर शाहीका तीन वटा गरी आठ वटा मह निकाल्ले तयारीका मौरीघारमा भालुले क्षति गरेको उहाँँले बताउनुभयो ।
सिंहका अनुसार देवी शाहीको घरमा रहेको कुकुर समेत भालुले मारेको छ । अहिले मौरीको घारमा भालुले क्षति गरेको छ । भालुलाई नियन्त्रण नगरेमा गाउँमा पशु चौपायदेखि मानवीय क्षतिसम्म हुन सक्ने भएकाले भालुलाई नियन्त्रण गर्ने उपाय निकाल्न स्थानीयले आग्रह गरेको सिंहले जानकारी दिनुभयो ।
भालु नियन्त्रणमा नलिए जनधनको क्षति हुन सक्ने भन्दै गाउँका सबैलाई सावधानी अपनाउन र बस्ती नजिकको जङ्गलमा नजान आग्रह गरिएको छ ।