• ७ कात्तिक २०८२, शुक्रबार

तिहारमा आठ लाख रुपियाँको फूल बिक्री

blog

कोहलपुर–१३ मा उत्पादन गरिएको फूल । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक ७ गते । तिहारमा करिब १३ क्विन्टल सयपत्री फूल बिक्री गर्नुभएका बाँके कोहलपुरका एक युवा व्यवसायीले यस पटक फूलको माग विगतभन्दा धेरै भएपछि माग पूरा गर्न नसकेको बताउनुभएको छ ।  

कोहलपुर–१३, नयाँ बस्तीमा १४ कठ्ठा जग्गामा फूल खेती गर्नुभएका युवा व्यवसायी जयबहादुर बस्नेतले आफूले उत्पादन गरेको ११ क्विन्टल फूल तिहारभन्दा दुई दिनअघि बिक्री भइसकेपछि सुर्खेतबाट थप करिब तीन क्विन्टल फूल ल्याएर बिक्री गर्दा पनि माग पूरा गर्न नसकिएको बताउनुभयो । 

उहाँले आठ लाख रुपियाँको फूल बिक्री गरेको जनाउँदै अझै आफूसँग भएको भए २० क्विन्टल थप फूल बिक्री गर्न सकिने अवस्था रहेको उहाँको भनाइ छ । जिल्लाको कोहलपुर र नेपालगन्जका अधिकांश स्थानीयले खेतमै पुगेर आफै टिपेर ताजा फूल लगेर गएको बताउनुभयो । दुई दिन त खेत बाहिर ठुलो जाम लागेको स्मरण गर्दै व्यवसायी बस्नेतले तिहारभन्दा एक दिनअघि सबै फूल सकिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “फूलका लागि यति धेरै फोन आएकि मोबाइल बन्द गर्नुपर्ने अवस्था आयो । धेरै मानिस खेतमै पुगेर खाली हात फर्किए । माग पूरा गर्न नसकेकोमा दुःख लागेको छ ।”

बारीमै पुग्नेहरूलाई ५०० रुपियाँ केजीमा फूल बिक्री गरेको जनाउँदै पछि माग धेरै बढेको र बाहिरबाट पनि फूल ल्याउनु परेकाले ६०० रुपियाँ केजीमा बिक्री गरेको जनाउँदै बस्नेतले माग पूरा नहुँदा भारतबाट ल्याइएका फूलहरू नेपालगन्जमा ७०० रुपियाँ केजीमा स्थानीयले खरिद गरेको बताउनुभयो । 

यसवर्ष १४ कट्ठामा फूल खेती गर्नुभएका बस्नेतले माग अत्यधिक रहेकाले अब अर्को वर्षका लागि खेती विस्तार गरेर २० कट्ठा बनाउने योजना बनाएको बताउनुभयो ।     

सोही प्रकारले कोहलपुर–३, वनकटुवामा फूलखेती गर्नुभएका विष्णुकुमारी चौधरीले पनि यस पटक राम्रो फूल बिक्री भएको बताउनुभयो । उहाँले १० कट्ठा जग्गामा फूलखेती गरे पनि हाल पाँच कट्ठाको मात्र फूल तयार भएको जनाउँदै यस पटक चार क्विन्टलभन्दा बढी फूल बिक्री गरिएको बताउनुभयो । 

यस पटक फूलको  माग अत्यधिक बढी भएको देखिएको जनाउँदै अब अर्को वर्षबाट आफूले पनि खेती विस्तारको योजना बनाएको उहाँको भनाइ छ ।