केशबराज भट्ट
वाशुलिङ (बैतडी), कात्तिक ७ गते । बैतडीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–६, सुकेलीका करिब ५८ वर्षीय प्रेमसिंह बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार बिष्ट बिहीबार दिउँसो घरबाट सिउडे जाने क्रममा बेपत्ता हुनुभएको थियो । अबेरसम्म घर नफर्केपछि परिवारका सदस्यले इलाका प्रहरी कार्यालय पाटनमा खबर गरेका थिए ।
खोजीका क्रममा दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४, अन्नाडी मोडनजिक सडकबाट करिब एक सय मिटर तल बिष्टको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा बिष्टले चलाएको सुपप्र ०१–०११ प. ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा भेटिएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।