अमरराज नहर्की
तनहुँ, कात्तिक ६ गते । तिहारको अवसरमा तनहुँ कारागारका कैदीबन्दीलाई भाइटीका लगाउने अवसर प्रदान गरिएको छ ।चाडपर्वमा पनि कैदीबन्दीको मन खल्लो नहोस् भन्ने उद्देश्यले बिहीबार बिहान ७ देखि साँझ ५ बजेसम्म भाइटीका लगाउने व्यवस्था मिलाइएको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रशासनका अनुसार, दिदीबहिनीको हातबाट भाइटीका लगाउन पाउने भएपछि कैदीबन्दीहरूको निधार पनि रित्तो रहने छैन। यसअघि दसैँमा पनि कैदीबन्दीलाई आफन्तजनबाट टीका लगाउन दिने व्यवस्था मिलाइएको थियो । तनहुँ कारागारका जेलर टेकप्रसाद भट्टराईका अनुसार कारागारमा हाल २५० जना कैदीबन्दी रहेका छन् । तीमध्ये महिला कैदी १४ र थुनुवा तीन गरी १७ जना, साथै पुरुष कैदी १४५ र थुनुवा ८८ गरी २३३ जना छन् ।
भट्टराईले बताए अनुसार महिला र पुरुष दुवैलाई भाइटीका लगाउन र लाउन पाउने व्यवस्था मिलाइएको छ । दसैँमा पनि यस्तो अवसर उपलब्ध गराइएको थियो । कारागार प्रशासनका अनुसार, साइत हेरी टीका लगाउनेले साइतअनुसार र अनुकूल नपुग्नेहरूले साँझ ५ बजेसम्म टीका लगाउन पाउने व्यवस्था गरिएको छ ।