• ८ जेठ २०८१, मङ्गलबार

बालसाहित्यको खडेरी

blog

बालसाहित्य महत्त्वपूर्ण विधा हुँदाहुँदै यसको प्रकाशन ज्यादै न्यून छ । विद्यालयमा उपलब्ध गराइने पाठ्यक्रमका किताबले मात्र बालबालिकामा पढ्ने बानी विकास गर्न सकिन्न । पठन संस्कृति बढाउनका लागि बालसाहित्यको महत्त्वपूर्ण भूमिका हुन्छ । बालसाहित्य बालबालिकाका लागि सिकाइको आधारशीला हो भने वयस्कहरूका लागि पढ्ने बानी विकास गर्ने महत्त्वपूर्ण प्रवेशद्वार हो । बालककालमा साहित्य पढ्ने अवसर मिल्यो भने उनीहरू आजीवन असल पाठक बन्न सक्छन् र गुणवत्तापूर्वक जीवन जिउन सक्छन् भन्ने प्रमाणित भइसकेको छ । यसकारण बालसाहित्य बालबालिकाको समष्टिगत विकासका लागि अनिवार्य आवश्यकता हो । 

संवेदनशील साहित्य 

विश्वमा बालसाहित्य उन्नयनका लागि धेरै प्रयास भएको छ । कुनै पनि देश वा समाज बालसाहित्यप्रति सकारात्मक नहुने भन्ने हुँदैन । तर अनुसन्धानबिना बालविकासका लक्ष्य हासिल गर्न सकिन्न । बालबालिका नै भविष्यका कर्णधार हुन् र उनीहरूको व्यक्तिगत आचरणको विकास कसरी गर्न सकिन्छ भन्नेमा सबैको ध्यान पुग्नु पनि पर्छ । यसैले विज्ञहरूले केही किताब र विषयहरू बालबालिकालाई आवश्यक हुने निष्कर्ष निकालेका छन् । अहिले विश्वमा बालबालिकालाई पढ्नका लागि शृङ्खलाको किताब (सेरिज बुक) ज्यादै लोकप्रिय र पढ्ने बानी बसाल्नका लागि उपयुक्त हुन्छ भन्ने अनुसन्धानको नतिजा छ । शृङ्खला किताबमा एउटै दुनियाँको उस्तै चरित्रको किताब निकाल्ने प्रवृत्ति विश्वभर नै प्रचलनमा छ । हुन पनि बालबालिकालाई एउटा पत्रिका दिने र शृङ्खलाका पात्रहरूसँगै उनीहरूको सम्बन्ध बनाउनमा अभिभावक या शिक्षकहरूले मद्दत गर्न सक्छन् । बालबालिका एकचोटि कथाको पात्रसँग उत्सुकतापूर्वक जोडिसकेपछि उनीहरू शेष शृङ्खलालाई पढ्न उत्सुक हुन्छन् जसले गर्दा उनीहरूमा पढ्ने रुचि बढाउँछ । कालान्तरमा त्यही शृङ्खला बालबालिकामा पढ्ने उत्सुकता जगाउने एउटा महान् आधार बन्न सक्छ । शिक्षक, अभिभावक र सञ्चारकर्मीले ध्यान दिनुपर्ने कुरा के हो भने दयालु र अन्यायविरुद्ध प्रतिकार गर्ने खालको कहानीले युवा पाठकमा चरित्र लक्षण बनाउनमा मद्दत गर्छ । यस्तो किताबले अरूप्रति दया गर्न सिकाउँछ र असलमा मित्रता के हुन्छ भन्ने बारेमा जानकारी दिन्छ । 

शास्त्रीय रूपमा पुनर्निर्माण बालसाहित्य अत्यधिक प्रचलनमा छ । भारतमा रामायण, महाभारतका शृङ्खला बालकहरूमा अति लोकप्रिय भएको देखिएको छ । एक अध्ययनअनुसार ८० प्रतिशत बालबालिकाले यसलाई ज्यादै मनपराउने शृङ्खला भनिएको छ । यसको साथै ग्राफिक (शब्द र चित्रको संयोजनबाट बनाइने एक प्रकारको पाठ) पनि प्रचलनमा रहेको र अति लोकप्रिय हुने भारत, बङ्गलादेश र पाकिस्तानमा गरिएको अध्ययनले देखाएको छ । ग्राफिक उपन्यासलाई एउटा शिक्षण विधिको रूपमा प्रयोग गर्ने प्रचलन अमेरिका र बेलायतमा धेरै पहिलेदेखि थियो । ग्राफिक उपन्यासलाई संसारभर नै अहिले एउटा पूर्ण उपन्यास मान्न थालिएको छ जहाँ समस्या र समाधानसहितको विषयवस्तु समावेश गरिएको हुन्छ । आजकल सबै विधामा ग्राफिक प्रयोग गर्न थालिएको छ ।  ध्यान दिनुपर्ने विषय के छ भने साना बालबालिकामा पढ्नु भनेको प्रारम्भिक आकस्मिक चरणको सङ्क्रमण अवस्था हो । शिक्षाविद्हरूका अनुसार कक्षा तीन पछिको अवस्थालाई सामान्यतया बालबालिकाको सिकाइको सङ्क्रमण अवस्था मानिन्छ । यसकारण तीन कक्षाभन्दा माथिका बालबालिकाका लागि सिकाइको विधि र पाठ्यसामग्रीमा आमूल परिवर्तन गर्नुपर्ने हुन्छ । कक्षा एकदेखि कक्षा तीनसम्मका बालबालिका ठूलो फन्टको अक्षर, चित्र बढी र शब्द कम आदि पढ्ने वर्ग हो भने त्यसपछिको पाठकलाई सानो सानो अध्याय, केही चित्र र शब्दको विषय पस्कनु पर्छ । यस्तो बेला शृङ्खला किताब बालबालिकाले अति मन पराउने अनुसन्धानको नतिजा छ । सन् १९९० मा ह्यारी पोटर शृङ्खलापछि काल्पनिक उपन्यासको लोकप्रियता यसरी बढ्यो कि सम्भवतः शृङखलायुक्त पाठ्य सामग्री साहित्य र विद्यालयका किताबमा समावेश नगरिएका देश अहिले एसियामा पनि औँलामा गन्न सकिने मात्र बाँकी छन् । ह्यारी पोटरमा बालक र वयस्क दुवै पाठकलाई उपयुक्त हुने प्रशस्त विषय छन् । यसबाट के प्रमाणित भएको छ भने बालबालिका यस्तो किताब खोज्छन् जसले उनीहरूलाई महसुस गराउन सकोस् कि उनीहरू एक्लै छैनन् । यस्तो विषय समेटिएको साहित्यलाई संवेदनशील साहित्यको कोटिमा राख्ने गरिएको छ । 

फरक पन 

मानिसहरू सोच्ने गर्छन् कि बालसाहित्य ठूला मानिसका लागि लेखिने साहित्यभन्दा फरक साहित्य हो । साहित्य सबै एकै प्रकारको हुन्छ । तर बालसाहित्य अलि फरक किन छ भने बालसाहित्यमा अपेक्षाकृत सरल रूपको कथाको बुनोट र भाषा हुन्छ । सामान्यतया बालकथामा छिटो छिटो क्रिया र कारबाही हुन्छ । कथा जटिल भए पनि बालकका लागि प्रासङ्गिक हुन्छ । कथाको उत्कर्ष या अन्त्य पनि अचानक हुन्छ । विस्तृत विवरण विरलै दिइन्छ । दोहो-याउने या दोहोरिने विशेष सूत्र बालबालिकामा लोकप्रिय हुन्छ तर बिर्सन नहुने के छ भने बालसाहित्य पनि साहित्य नै हो । केही पूर्वाधारहरू फरक भए पनि अन्ततोगत्वा बालसाहित्यले दिने सन्देश, सूचना, मनोरञ्जन सबै उस्तै हो । 

अर्को महत्त्वपूर्ण कुरा के छ भने बालबालिका सबै एकै प्रकारका हुँदैनन् । उनीहरूलाई सानो मान्छे, कम क्षमता भएका भनेर कम मूल्याङ्कन गर्न पनि हँुदैन । केही बालबालिका अत्यन्त प्रतिभावान् हुन्छन् तर यसको मतलव उनीहरूलाई युवा सम्झन पनि हुँदैन । मानिसको अनुहार, जिउडाल फरक भएजस्तै बालबालिकाको समझदारी, चेतनाको स्तर, रुचि र क्षमताका विकास पनि विभिन्न स्तरको हुन्छ । प्रारम्भिक स्कुल स्तरमा बालबालिका एउटा निश्चित जीववाद प्रवृत्तिप्रति जागरुक हुन्छन् । प्रकृतिलाई समेत मानवरूपी या व्यक्तिगत दृष्टिले हेर्न पुग्छन् । यसकारण प्रकृतिका केही रहस्यमय विषयहरूले बालबालिका बढी आकर्षित हुन्छन् । 

प्रवृत्ति

कथा भन्नासाथ बालबालिका हुरुक्कै हुन्छन् । त्यसैले विगतमा ठूला मानिसहरूले दन्त्य कथा भनेर बालबालिकालाई मनोरञ्जन गराउँथे । बालापनको अनुभूतिबाट नै मानिसहरूमा लेख्ने प्रेरणाको विकास भएको हो पनि भनिन्छ । अहिले बालसाहित्यसम्बन्धी पत्रपत्रिकाहरू नेपाली भाषामा धेरै छैनन् । मुनालगायत केही पत्रिकामा बालसाहित्य समेटिएको त छ तर सम्पूर्ण रूपले नेपालबाट प्रकाशित हुने बालपत्रिका साहित्यिक पत्रिका हुन सकेका छैनन् । कतै कतै के पनि भ्रम छ भने बालसाहित्य भन्ना साथ बालबालिकाले मात्र लेख्ने हो र उनीहरूले लेखेको मात्र बालसाहित्य हो भन्ने चलन छ । बालबालिकाले साहित्य लेख्न हुन्न भन्ने होइन तर बालसाहित्यको खास प्रयोजन छ । यसकारण बालसाहित्यको विकास कसरी भयो अहिले संसारमा बालसाहित्यको प्रवृत्ति कस्तो छ जान्न जरुरी छ । 

सबभन्दा पहिला बालसाहित्यका प्रकाशकले के बुझ्नुपर्छ भने साहित्यिक किताबभित्र रहेका संवाद, कहानी, चित्र, विज्ञानप्रविधि, सूचना, ज्ञान आदि वयस्क, युवा र प्रौढ मानिसलाई दिइने जस्तै हुनुपर्छ । बालसाहित्यले त्यस्ता सामग्री पस्किन सक्नुपर्छ जो सामान्य होस् तर अति मूल्यवान् जसले सुन्दर प्रारूपको निर्माण गर्न सकोस् । यहाँनेर हेक्का के राख्नुपर्छ भने पुस्तकले त्यो दिन्छ जे सामान्य लाग्छ तर त्यो अति मूल्यवान् हुन्छ जसले सुन्दरताको गठन गर्छ । यस्तै हो बालसाहित्यको सुन्दरता पनि । बालसाहित्यभन्दा अधिक सत्य अन्यन्त्र कहीँ पाइँदैन या खोज्नै सकिन्न । प्रेम, दृढता र आत्ममूल्यको पाठ बालसाहित्यबाहेक अन्यन्त्र कहीँ पाउन सकिन्न । समाजको अत्यन्त कनिष्ठ सदस्य भए पनि बालबालिका समाजका सबैभन्दा प्रभावशाली सदस्य हुन् र उनीहरूलाई सांस्कृतिक मूल्य अनिवार्य रूपले सिकाउनै पर्छ । यसका लागि साहित्य महत्त्वपूर्ण हुन्छ । मानिस हुनुको अर्थ आधारभूत जीवन जिउनु मात्र होइन, जिम्मेवारीका साथ गुणवत्तापूर्वक जिउनु पनि हो । भविष्यमा गुणवत्ता जीवन जिउनका लागि साहित्यले महìवपूर्ण भूमिका खेलेको हुन्छ । तर नेपाली बालसाहित्य आजको सबैभन्दा दबाबयुक्त मुद्दामा लगभग शून्य नै छ । विज्ञानसाहित्यलगायत आधुनिक साहित्यको खडेरी नै परेको छ । 

साहित्यिक पत्रिका मात्रै होइन, कक्षा १ देखि कक्षा १० सम्म तयार गरिएको पाठ्यपुस्तकमा पनि ठूलो भ्वाङ परेको छ । यी किताबमा सांस्कृतिक समावेशी र अत्यधिक लोकप्रिय डिस्टोपिएन (पर्यावरणीय विनाश, प्रविधि नियन्त्रित र उत्पीडन आदि सँग लड्ने या प्रतिकार गर्ने) तथा समय यात्रासम्बन्धी लेखिएका कथा, संवेदनशील मुद्दाजस्तो कि क्यान्सर, आत्महत्या, मृत्युसम्बन्धी लेखिएका साहित्य कति वटा छन् ? निराशाजनक स्थिति हात लाग्छ । नेपालका बालबालिकाले स्कुलमा आधुनिक साहित्य पढ्न पाउँदैनन् । ठूला अखबारहरूले पनि बालसाहित्यलाई स्थान दिइएको पाइँदैन । बालमनोविज्ञान नियाल्दा के देखिन्छ भने विविधता र विविध अनुभवले उनीहरूलाई सहानुभूति र करुणाको सुविधा प्रदान गर्न सक्छ किनकि बालबालिकाको झुकाव, रुचि, अनुभव यस्तो हुन्छ कि जसलाई सम्पूर्ण रूपमा मनोवैज्ञानिकले त के स्वयं विधाताले समेत जान्नै सक्दैन भन्ने गरिन्छ । 

लेखक, पत्रकार, शिक्षक, नेता हाम्रो पेसा जे भए पनि हामी एक उपभोक्ता पनि हौँ । यसको साथै बालविकासका लागि हामी एक सरोकारवाला पनि हौँ । यो जिम्मेवारीबाट कोही पनि भाग्न मिल्दैन । हामीहरू सबैले बजार सञ्चालनको चुनौती दिनुको साथै निर्णय लिएर महत्त्वपूर्ण दृष्टिकोण प्रदान गर्न सक्नुपर्छ । आवश्यक परे बालविकासका लागि सहयोग गर्ने क्षेत्र पहिल्याएर योगदान दिन सक्नुपर्छ जसले बालबालिकाको जीवनमा एउटा अन्तर ल्याउन सकोस् । अक्सर हामी सबै प्रवृत्तिको निर्माण गर्ने नभई प्रवृत्तिको अन्धाधुन्ध नक्कल गर्ने अनुयायी बन्न पुग्छौँ । सामूहिक रूपमा हामीले बालबालिकाको आवश्यकता के हो भनेर कार्य गरेका छौँ कि छैनौँ गम्भीर भएर हरेकले आफैँलाई प्रश्न गर्नुपर्छ र आफ्नोतर्फबाट योगदान दिनै पर्छ । अब आधुनिक विधा समेटिएको बालसाहित्य पत्रपत्रिका र पाठ्यक्रममा समावेश हुनुपर्छ । सरोकारवाला हरेकले बालसाहित्यको प्रकृति जान्न र प्रासङ्गिक पुस्तक बालबालिकालाई सुझाउन तथा उनीहरूको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न आवश्यक छ ।