गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १८ गते । कृषि गणनाका लागि तथ्याङ्क सङ्कलन गर्ने कार्य सकिएको छ । सङ्कलन गरिएको तथ्याङ्कका फाराम केन्द्रीय तथ्याङ्क विभागमा आइसकेको राष्ट्रिय कृषि गणना २०७८ का अधिकारी बद्रीकुमार कार्कीले बताउनुभयो । वैशाख ६ गतेदेखि देशैभरि कृषि गणना सुरु गरिएको थियो । कार्कीले भन्नुभयो, “गणनापश्चात्को मुख्य गणना कार्यबाट प्राप्त फारामको कोडिङ, इडिटिङ, इन्ट्री, प्रशोधन तथा विश्लेषण गरी मङ्सिर महिनासम्ममा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिनेछ ।”
“७७ वटै जिल्लामध्ये डोटीको तथ्याङ्क आउन बाँकी छ । यातायातका कारण समयमा आउन नसकेको हो । त्यहाँ फारामहरू पोका पारेर तयारी अवस्थामा राखिएको छ । आगामी हप्ताभित्र आइपुग्छ,” उहाँले भन्नुभयो । पहिलाको तुलनामा यस पटक कृषि गणना फरक तरिकाले भएको छ । विगतमा कृषि गणना कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादनसम्बन्धी विवरण जिल्ला तहसम्म मात्र हुने गरेको चर्चा गर्दै यस पटक ७५३ वटै पालिकाको वडा वडामा गएर किसानको विवरण सङ्कलन भएकाले प्रशोधन र विश्लेषणमै समय लाग्ने उहाँले बताउनुभयो ।
कृषि गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिँचाइ, पशुपन्छीको सङ्ख्या, कृषि औजारको उपयोग, कृषि कार्यमा संलग्न जनशक्ति, महिलाको नाममा भएको जग्गालगायतका विवरण समेटिएका छन् । कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरित गृह पद्धतिको प्रयोग, माटो परीक्षण, पशु आहारको स्रोत, कृषि बजारसम्मको पहँुच, कृषि अवशेष वा फोहोरको व्यवस्थापनलगायत कोभिड–१९ ले कृषि क्षेत्रमा पु¥याएको असरजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिएको छ ।
राष्ट्रिय कृषि गणना २०७८ मा गणनाको एकाइ कृषि चलनलाई लिइएको छ । हिमाल र पहाडका जिल्लामा भए कम्तीमा चार आना र तराईका जिल्लामा भए कम्तीमा आठ धुर क्षेत्रफलमा बाली लगाएकालाई किसान मान्ने मापदण्ड बनाएकोे थियो अथवा जुनसुकै उमेरका कम्तीमा एक-एक गाई–भैँसीजस्ता ठूला चौपाया पालेको वा कम्तीमा पाँचवटा भेडा–बाख्राजस्ता साना चौपाया पालेको वा माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पन्छी (कुखुरा, हाँस) पालेकालाई कृषि गणनामा राखिएको छ । कृषि गणनाका लागि तीन लाख ५० हजार कृषक परिवारलाई छानिएको थियो । त्यसका लागि छ हजार गणक, १५ सय सुपरिवेक्षक तथा करिब ७७ कृषि गणना अधिकृत खटाइएको थियो ।