• २७ असोज २०८२, सोमबार

स्क्रब टाइफस र उच्च ज्वरोले दुईको मृत्यु

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, असोज २७ गते । स्क्रब टाइफस र उच्च ज्वरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१, कालाखेतका गजेन्द्र केसीको स्क्रब टाइफसका कारण र दार्मा गाउँपालिका–३, दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

दुवै जनाको उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रमुख डा. अर्जुन बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार गजेन्द्र केसीलाई सुरुमा जिउ दुख्ने र ज्वरो आउने समस्या देखिएपछि बागचौरस्थित एक मेडिकलमा उपचार गरिएको थियो । तर औषधी सेवन गरेपछि उच्च ज्वरो नघटेकाले श्वास प्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल सल्यान ल्याइएको थियो ।

लक्षणअनुसार परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भएको र ल्याएको केही समयमै अवस्था गम्भीर भएपछि नेपालगन्ज रेफर गरिएको थियो । त्यहाँ उपचारका क्रममा उहाँको मृत्यु भएको बताइएको छ । 

डा. बुढाका अनुसार “पछिल्लो समयमा सल्यानमा स्क्रब टाइफसका बिरामी बढिरहेका छन् । धेरै जना उपचारपछि घर फर्किएका छन् । तर समयमै रोग पहिचान नभएकाले केसीले अकालमा ज्यान गुमाउनु परेको छ ।”

कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो तीन महिनामा मात्र ७० जनाले जिल्ला अस्पताल सल्यानमा स्क्रब टाइफसको उपचार गराएर निको भएका छन् । डा. बुढाले भन्नुभयो, “अहिले सल्यानमा स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ । लगातार केही दिनसम्म उच्च ज्वरो र शरीर दुख्ने समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर रगत परीक्षण गराउनुपर्छ ।”

यस्तै, दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार दुवाङ्गकी खत्रीको उच्च ज्वरोका कारण जिल्ला बाहिर उपचारको क्रममा मृत्यु भएको हो । “उहाँमा स्क्रब टाइफसजस्ता लक्षण देखिएको थियो । तर परीक्षणबाट पुष्टि भएको छैन” उहाँले भन्नुभयो ।

बस्नेतका अनुसार पालिकाभित्र हाल मौसमी ज्वरोका बिरामी बढिरहेका छन् । पालिकामै रगत परीक्षणको सुविधा नहुँदा उपचारमा समस्या आइरहेको छ । पछिल्लो समयमा देखिएका जटिल ज्वरोका घटनाबारे जानकारी आदान–प्रदान गर्न जिल्ला अस्पताल सल्यानले पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेको छ ।