सिराज खान
नेपालगन्ज, असोज २७ गते । तिहार र दिपावली सुरु भइसकेकाले बाँकेका कुम्हाल समुदाय यति बेला माटोका दियो लगायतका भाडा बनाउन व्यस्त छन् । उनिहरूलाई अहिले भाडा बनाउन भ्याइनभ्याई छ ।
तिहार र छठ जस्ता ठुला चाडपर्वमा माटोको दियोको माग सबैभन्दा बढी हुने गरेकाले कुम्हाल समुदायमा भाडा बनाउनेहरू दियो र भुर्की बनाउन केही समय यता निकै व्यस्त भएका हुन् । यतिबेला यस समुदायका अधिकांश मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् ।
नेपालगन्ज-३ का कुम्हाल रमेश कुम्हालले आधुनिकता र नयाँ नयाँ भाडा बर्तनको चलनले माटोको भाडाको बिक्री पहिले जस्तो नभएपनि अझै दियो लगायत केही भाडाको माग अत्यधिक हुने गरेकोले तयार गरिरहेको बताउनुभयो ।
उहाँले पहिले जस्तो माग नभए पनि अहिलेपनि चाडपर्वमा माटोको भाडा खोज्नेहरू धेरै आउने गरेको र कतिपयले त खोजेर पनि नपाउँदा निराश भएर अन्य भाडाबाट काम चलाउने गरेकोले बनाउनु परेको बताउनुभयो ।
हालको बजारको माग अनुसार घैटा, दियो, पाला, भुर्की आफुले बढी बनाउने गरेको रमेशको भनाइ छ । उहाँले सबैभन्दा बढी तिहारको बेला दियो बिक्री हुने गरेको र माग अनुसार पुर्याउनै नसकिने हुँदा केही समय पहिलेबाटै बनाउन सुरु गरेको बताउनुभयो ।
प्रति दियो दुई रुपियाँमा बेच्ने गरेको जनाउँदै उहाँले तिहारको बेला आफुले मात्र ३० हजारभन्दा बढी दियो बिक्री गर्ने गरेको बताउनुभयो ।
सोही प्रकारले नेपालगन्ज १३ का दिनेश कुम्हालले पनि अहिले आएर यो पेसाबाट जीवन धान्न निकै समस्या भए पनि आफुले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै चाडपर्वको बेला बढी माटाका भाडाकुँडाहरू बनाउने गरेको बताउनुभयो ।
उहाँले पुर्खाहरूले गरेको कामलाई चटक्कै छोड्न नसकिने जनाउँदै अहिलेको युवा पुस्तामध्ये अधिकांशले यो पेसा छोडिसके पनि आफुले आफ्नो पुर्खाको संस्कृतिको रूपमा रहेको यो पेसा जारी राखेको बताउनुभयो ।
विशेष गरी तिहार, दिपावली तथा छठमा पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्याधिक भएकाले भाडा बनाउन रात दिन नभनी व्यस्त रहेको अधिकांश स्थानीय कुम्हालको भनाइ छ ।
अहिले नेपालगन्जको सदरलाइन, त्रिवेणी मोड, त्रिभुवन चोक र आआफ्नै घरमा समेत कुम्हार समुदायले दियो र भुर्की लगायत माटोका भाडा बिक्री गरिरहेका छन् । त्रिभुवन चोकमा बाह्रै महिना माटोको भाडाको बिक्री हुने गरेको छ ।