केशवराज भट्ट
वासुलिङ (बैतडी), असोज २७ गते । बैतडीको पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहारलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार लुहारलाई आइतबार पक्राउ गरिएको हो । १९ वर्षीया एक किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएकी थिइन् । सो जाहेरीका आधारमा लुहारलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान अघि बढाइएको निरीक्षक पाण्डेयले बताउनुभयो ।
प्रहरीका अनुसार घटनाबारे थप विवरण सङ्कलन भइरहेको छ । जिल्ला अदालतबाट लुहारमाथि आठ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।