पशुपतिनगर समाचारदाता
पशुपतिनगर (इलाम), असोज २७ गते । इलामको सूर्योदय नगरपालिकाले १८ गते रातिको बाढीपहिरोपछि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ । असोज १९ गते बिहानैदेखि मुख्य मेची राजमार्ग खुलाउन लागेको नगरले हालसम्ममा नगरका १४ वटै वडाको क्षतिग्रस्त सडक खुलाइसकेको छ ।
नगरले नगर क्षेत्रभित्र मृत्यु भएका परिवारका सदस्यलाई दुई लाख रुपियाँका दरले आर्थिक सहयोग गरिसकेको छ भने ४० भन्दा बढी विस्थापितलाई प्रारम्भिक चरणको राहत वितरण गरिसकेको नगरका विपत् फोकल पर्सन सिर्जन गदालले जानकारी दिनुभयो ।
नगरले तत्कालै प्रकोप व्यवस्था कोष स्थापना गरेको छ । बाढीपहिरो प्रभावितलाई सहयोग गर्नका लागि सुरुमा नगरका कर्मचारी, वडा कर्मचारी र स्वास्थ्यकर्मीले एक दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेका थिए । नगरमा स्थायी र करार गरी २८० जना कर्मचारी रहेका छन् । करिब एक हजार रुपियाँका दरले जम्मा हुँदा दुई लाख ८० हजार रुपियाँ कोषमा जम्मा भएको फोकल पर्सन गदालले जानकारी दिनुभयो ।
यस्तै नगरभित्र सामुदायिक विद्यालयका सबै प्रकारका शिक्षक, बाल विकास र विद्यालय कर्मचारी गरी ५५१ जना रहेका छन् । औसत एक हजार रुपियाँका दरले कोषमा रकम जम्मा हुँदा विद्यालय क्षेत्रबाट पाँच लाख ५१ हजार रुपियाँ कोषमा जम्मा भएको छ । नगरको प्रकोप कोषमा निजी नम्बरी आबादी (गोलिया) व्यवसायीले नगद एक लाख रुपियाँ छिपिटार टोल विकास संस्थाले नगद १० हजार जम्मा गरेको छ । सूर्योदयका एक व्यक्तिले नाम नखुलाउने सर्तमा नगद ५१ हजार रुपियाँ जम्मा गर्नुभएको छ ।
नगर क्षेत्रमा बाढीपहिरोमा परी पाँच जनाको मृत्युभएको थियो । यस्तै सूर्योदयकै एक महिलाको भारतको मिरिक गएको अवस्थामा मिरिकको पहिरोमा परी मृत्यु भएको थियो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले प्रभावितलाई सहयोग गर्ने काम आफैँबाट थाल्नु पर्छ भन्ने उद्देश्यले नगरका सबै कर्मचारीले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको बताउनुभयो । सबै रकम जम्मा गर्दा नगरको कोषमा नौ लाख रुपियाँभन्दा बढी रकम जम्मा भइसकेको छ । नगरप्रमुख रणबहादुर राईले विपत्को समयमा जनप्रतिनिधि, कर्मचारी र नगरवासीको ठुलो सहयोगले छिट्टै समस्या समाधान हुने बताउनुभयो । उहाँले आगामी दिनमा विपत् प्रतिकार्यका लागि पूर्वतयारी र उपकरणमा समेत ध्यान दिइने बताउनुभयो ।
नगर उपप्रमुख तथा फिक्कल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका संयोजक दुर्गाकुमार बरालले धेरै ठाउँमा पानीका पाइप बगाएका कारण मर्मतको काम भइरहेको जानकारी दिनुभयो । उहाँले खानेपानीमा मात्र बाढीपहिरोले डेढ करोड रुपियाँभन्दा बढीको क्षति गरेको जानकारी दिनुभयो ।
खानेपानीको पाइप बगाएका ठाउँमा अहिले सूर्योदयका युवा र टोल विकासले स्वतःस्फूर्त रूपमा श्रमदान गरिरहेका छन् । नगरप्रमुख राईले स्थानीय युवाले विपत्को समयमा देखाएको सव्रिmयताले नगरमा सामाजिक सद्भावसमेत कायम गरेको बताउनुभयो । नगरले दिनभरि गरेका कामको विवरण प्रत्येक दिन साँझ विज्ञप्तिमार्फत सार्वजनिक गर्दै आएको छ ।