धर्बेन्द्र झा
जनकपुरधाम, असोज २५ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता खारेज गर्ने कुरा सपनामा पनि आउन नसक्ने बताउनु भएको छ ।
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले केही राजनीतिक दलका नेताले संघीयता माथि प्रहार हुने गरी मुख्यमन्त्रीले राजीनामा नदिएर प्रदेश खारेजीको मनस्थितीमा रहेको भन्दै गलत हल्ला फैलाएको भन्दै यस्तो बताउनुभएको हो।
उहाँले गणतन्त्र र संघीयताको लागि अवाज उठाएको र गणतन्त्र र संघीयता प्राप्तिका लागि गरेको आन्दोलनको अग्रमोर्चामा आफू सुरुदेखि नै भएको प्रष्ट पार्नुभएको छ।
उहाँले आफूले राजीनामा नदिएको र प्रदेश प्रमुखले पनि सरकार गठनका लागि आह्वान नगरेको अवस्थामा दलका नेताले मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्नु कानून विपरित रहेको बताउनु भयो।
उहाँले संविधानले दिएको अधिकार बमोजिम असोज २८ गते बस्ने प्रदेशसभाको बैठकमा आफूले विश्वासको मत लिने बताउनुभयो।
प्रदेशसभा सचिवालयले सूचना सार्वजनिक गर्दै असोज २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ ।