सन्तोष दहित
दाङ, असोज २५ गते । नेकपा (एमाले) दाङले जनसंगठन समन्वय संयन्त्रको आह्वानमा असोज २६ गते दाङको घोराहीमा खबरदारी सभा गर्ने भएको छ । एमालेले गर्न लागेको खबरदारी सभाका लागि जिल्ला प्रशासन कार्यालय दाङले अनुमति दिएको छ । खबरदारी सभामा शान्ति सुरक्षाको ब्यबस्था मिलाउन निर्देशन प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनुभएको छ।
नेकपा (एमाले) दाङ जनसंगठन समन्वय संयन्त्रका संयोजक मनोहर बुढाथोकीले शान्तीपूर्ण खबरदारी सभा गर्न लागेको र स्थानीय प्रशासनबाट अनुमति पाइसकेको जानकारी दिनुभयो । उहाँले ट्राफिकचोकमा जम्मा भई घोराहीको तुलसीपुर चोकमा पुगेर सकिने जानकारी दिनुभयो ।
वर्तमान राजनीतिक परिस्थितिले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने खतरा बढेको भन्दै त्यसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले खबरदारीसभा गर्न लागिएको संयोजक बुढाथोकी बताउनुभयो । विधिको शासनको रक्षा, संविधानको कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र अराजकताविरुद्ध जनसहभागिता जुटाउने अभियान अन्तर्गत यो सभा आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
खबरदारी सभालाई सफल बनाउन दाङका स्थानीय तह, वडा र टोलस्तरमा जनसंगठनहरूलाई सक्रिय बनाएर सहभागी गराइने बुढाथोकिको भनाइ छ । जिल्ला प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले शान्ति सुरक्षा दिन स्थानीय प्रशासनबाट निर्देशन आएकाले जनपथ र सशस्त्रले सुरक्षाको बाताबरण बनाउने जानकारी दिनुभयो ।