• २५ असोज २०८२, शनिबार

रुसी आक्रमणका कारण युक्रेनको ओडेसा क्षेत्रको विद्युत सेवा बन्द

blog

किएभ, युक्रेन, असोज २५ गते । युक्रेनको दक्षिणी ओडेसा क्षेत्रका केही भागमा शनिबार बिहानै भएको रुसी आक्रमणले युक्रेनको ऊर्जा प्रणालीमा व्यापक क्षति भएको अधिकारीले बताएका छन् ।

अधिकारीले पछिल्लो बिजुली कटौतीले कति मानिसलाई असर गरेको छ भनेर बताएनन् तर युक्रेनी ऊर्जा फर्म डिटिइकेले यस क्षेत्रको राजधानीका केही भागमा विद्युत् सेवा अवरूद्ध भएको रिपोर्ट गरेको छ । डिटिइकेका अनुसार आक्रमणका कारण यस क्षेत्रका दुई लाख ४० हजार भन्दा बढी घरमा विद्युत सेवा अवरूद्ध छ । 

“हिजो राति, दुश्मनले ओडेसा क्षेत्रमा ऊर्जा र नागरिक पूर्वाधारमा आक्रमण गरेका कारण विद्युत् सेवा अवरूद्ध भएको छ ।,” क्षेत्रीय गभर्नर ओलेग किपरले टेलिग्राममा भन्नुभयो । “विद्युत् क्षेत्रका इन्जिनियरले बिजुली आपूर्ति पूर्णरूपमा पुनस्थापना गर्न हरसम्भव प्रयास गरिरहेका छन्,” उहाँले थप्नुभयो ।  

मस्कोले २०२२ मा आक्रमण गरेदेखि प्रत्येक हिउँदमा युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गर्दै आएको छ । विद्युत् ग्रिडमा हसने आक्रमणले लाखौं घरको बिजुली र ताप कटौती गर्दछ र किएभमा पानी आपूर्तिमा बाधा पुर्‍याउँछ । किएभले आक्रमण मुख्यरूपमा नागरिकविरुद्ध लक्षित भएको दावी गरेपनि रूसले युक्रेनले लगाएको आरोपको खण्डन गर्दै युक्रेनी सेनाले ऊर्जास्थल प्रयोग गर्ने गरेको बताएको छ । 

ठुलो मात्रामा रुसी आक्रमणका कारण राजधानी किएभ र अन्य नौ क्षेत्रमा बिजुली कटौती भएको भोलिपल्ट शनिबारको अवरोध भएको हो । डिटिइकेले शनिबार बिहान भनेको छ, “आक्रमणपछि अवरूद्ध विद्युत् सेवा राजधानीका करिब आठ लाखभन्दा बढी घरमा पुनस्थापना गरिएको छ ।” 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबारको रुसी आक्रमणलाई ‘शत्रुद्वारा गरेको उच्च क्षति’ को संज्ञा दिनुभएको छ भने उहाँले पश्चिमा देशलाई मस्कोमाथि प्रतिबन्ध बढाउन आग्रह गरेका छन् । रासस/एएफपी