अस्मिता पोखरेल
धादिङबेँसी, असोज २५ गते । जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सञ्जिवनी पोखरेल प्रथम स्थान हासिल गर्नुभएको छ । अन्तर्राष्ट्रिय धादिङ समाजले आयोजना गरेको प्रतियोगितामा नीलकण्ठ नगरपालिकाबाट सहभागी सञ्जिवनी पोखरेलले प्रथम स्थान हासिल गर्नुभएको हो ।
नीलकण्ठकै इशा थापाले द्वितीय स्थान हासिल गर्नुभयो । दुवै जनाको अङ्क समान भएपछि आयोजकले गोला प्रणाली (लटरी विधि) अपनाउँदै क्रम निर्धारण गरेको थियो । यस्तै, गल्छी गाउँपालिकाकी सूचना अधिकारी तृतीय भएकी छन् । त्रिपुरासुन्दरी गाउँपालिकाकी सन्ध्या विक चौथो र थाक्रेकी समृद्धि रूपाखेती पाँचौँ स्थानमा परेकी छन् । चौथो र पाँचौँ स्थान पनि अङ्क बराबर भएपछि गोला प्रणालीमार्फत निर्णय गरिएको थियो ।
प्रतियोगिताका विजेताहरूलाई क्रमशः प्रथमलाई नगद ५० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार, चौथोलाई १० हजार र पाँचौँ हुनेलाई ५ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा जिल्लाका १३ पालिकाबाट छनोट भएका ३२ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।
अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार तथा भाषाविद प्राडा. मोहनप्रसाद तिमल्सेनाको प्रमुख आतिथ्य तथा साहित्यकार, कविकार तथा महाकाव्यका लेखक डा. नवराज लम्सालको विषेश आतिथ्यता रहेको थियो । प्रतियोगिता निर्णायक मण्डलको भूमिकामा लेखक शोभा अधिकारी, शिक्षाविद शेखर कार्की र शिक्षा अधिकारी बोधराज पाठक रहनुभएको थियो ।