• ७ मंसिर २०८१, शुक्रबार

खोइ उम्दा चलचित्र ? बनेन दर्शकको रुचिअनुसार नेपाली चलचित्र

blog

सुकृत नेपाल 

काठमाडौँ, असार १७ गते । अहिले नेपाली चलचित्रप्रति धेरैको लगाव बढेको छ । प्रायः दर्शक रोजी रोजी चलचित्र हेर्न रुचाउँछन् । जोरपाटी बस्ने अक्कल शर्मा चलचित्र हेर्न धेरै नै सौखिन छन् । चलचित्रमा समसामयिकता समेटिएका हुन्छन्, जुन धेरै राम्रो पक्ष हो तर नेपाली चलचित्रहरू राम्रो बने पनि कथामा भने खासै परिवर्तन नदेखिएको उहाँ दाबी गर्नुहुन्छ । चलचित्रहरूको कतिपय कथावस्तु राम्रो भए पनि त्यसको प्रस्तुति भने खासै राम्रो हुँदैन । चलचित्रको ट्रेलर हेर्दा वाह ! लागे पनि हलसम्म पुगेर पूरा चलचित्र हेर्दा त्यो झुर नै लाग्छ । नेपाली चलचित्रको प्रभाव बितेको एक दशकमा बढे पनि दर्शकमा नाक खुम्च्याउने बानी अझै हटेको छैन । 

बलिउड चलचित्रबाट प्रभावित भएका नेपाली चलचित्रकर्मीहरूको अवस्था देखेर नेपाली दर्शक पनि भारतीय चलचित्रबाट प्रभावित हुनु कुनै नौलो कुरा होइन तर अहिले प्रविधिको कारणले नेपाली दर्शकले आफूलाई भारतीय मात्र होइन संसारभरका चलचित्रसँग जोडेका छन् । अहिले नेपाली दर्शकको छनोटमा बलिउडपछि अमेरिका, दक्षिण कोरियाली, जापानी, चिनियाँ, थाईजस्ता चलचित्रहरू  पर्न थालेका छन् । 

गाउँ–गाउँबाट राम्रा कथाहरू नेपाली चलचित्रका लागि भेटिन सक्छन् तर लगानी नउठ्ला कि भन्ने डरले निर्माताहरू पुरानै फर्मुला अपनाउन बाध्य छन् । सानेपामा बसोबास गर्ने सिम्रन शर्मा आफू नेपाली चलचित्र एकदमै हेर्न रुचाउने बताउनुहुन्छ तर नेपाली चलचित्रमा अझै पनि परिवर्तन नआएकोमा उहाँ आश्चर्यचकित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जो कलाकार चलेका छन् तिनै मात्र चलचित्रमा देख्न पाइन्छ । जुन प्रकारको कथा बजारमा चलेको हुन्छ त्यही नै दोहोरिन्छ । त्यस्तो हुँदा हामी त कहिलेकाहीँ रनभुल्लमा पर्छौं ।” उहाँ नेपाली चलचित्रमा दृश्य र संवादमा पनि नमिलेको भन्ने ठान्नुहुन्छ । चलचित्रमा ‘कथा गाउँको हुन्छ । कलाकारहरू सहरका जस्तो देखिनुहुन्छ तर उहाँहरूको लवज गाउँघरको जस्तो हुन्छ, उहाँ भन्नुहुन्छ, यस्तो प्रकारको चलचित्रहरू निर्माण हुँदा निर्माताहरूले आफ्नो कला बिर्सेर व्यापार मात्र गरेको हो कि जस्तो पनि लाग्छ । 

नेपालमा मात्र नभएर विदेशमा पनि नेपाली चलचित्र हेर्न रुचाउने धेरै छन् । अमेरिकाको बाल्टिमोर बस्ने राजु रेग्मी भन्नुहुन्छ, नेपाल छाडे पनि नेपाली चलचित्रप्रतिको लगाव धेरै बढ्दाे रहेछ तर यहाँ नेपाली चलचित्र कहिलेकाहीँ हेर्न पाइन्छ र त्यसको टिकट पनि महँगो नै पर्छ । नेपालमा प्रदर्शन भएका प्रायः चलचित्रहरू विदेशमा कम नै प्रदर्शन हुन्छन् । त्यो पनि नाम चलेका निर्देशक र चलचित्रहरूले मात्र विदेशमा आफ्नो चलचित्र प्रदर्शन गर्ने ठाउँ पाउँछन् । विदेशमा बस्ने नेपाली चलचित्र युट्युबमा रिलिज हुने बेलासम्म पर्खेर बस्ने नत्र हलिउड चलचित्र नै हेर्न बाध्य हुने उहाँको भनाइ छ । 

चलचित्र भनेको सर्जकको अनुकूलतामा भरपर्ने कुरा हो तर चलचित्रको व्याख्या त्यति मात्रमा सीमित हुँदैन । चलचित्र सामाजिक परम्परा र चलेको चलनको प्रतिविम्ब हो । काठमाडाैँ बानेश्वरका रमेश नेपाली दर्शकको रुचिअनुसार नेपाली चलचित्र नबनेको आरोप लगाउनुहुन्छ । अहिलेका युवाले प्रायः देशविदेशका चलचित्रहरू हेरिरहेका हुन्छन् जसमा जबरजस्ती संवाद थोपारेर दर्शकलाई बुझाइरहनु पर्दैन । चलचित्रमा हरेक कुरा संवादबाट बुझाउन खोज्यो भने चलचित्र हेर्न जानुको अर्थ के त ?