अमरराज नहर्की
तनहुँ, असोज २५ गते । तनहुँ जिल्लाका विभिन्न स्थानमा बाच्छिम, अरिङ्गाल र सर्पको टोकाइबाट तीनजना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार व्यास नगरपालिका–५ ठुलोटारका ६५ वर्षीय जितबहादुर कुमाल शुक्रबार बिहान ११ः१० बजे गाई चराउने क्रममा बारीमा रहेका बेला माटोमुनीबाट निस्केका करिब छ–सातवटा बाच्छिमले शरीरका विभिन्न भागमा टोकेका थिए । घाइते कुमाललाई उपचारका लागि प्रदेश अस्पताल दमौलीमा ल्याइएको र उहाँको अवस्था मध्यम छ ।
त्यसैगरी व्यास नगरपालिका–६ तल्लो साँझाका ६२ वर्षीय चक्रबहादुर थापा मगरलाई अरिङ्गालले टोकेपछि घाइते हुनुभएको छ । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उहाँलाई पोखरास्थित गण्डकी अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, व्यास नगरपालिका–११ सेराका तिलबहादुर घर्तीका १० वर्षीय छोरा मनोज घर्तीलाई बिहीबार साँझ घर बाहिर खेल्दै गर्दा सर्पले टोकेको थियो । उहाँलाई तत्काल उपचारका लागि अस्पताल ल्याइएपनि हाल स्वास्थ्य अवस्थामा सुधार आएको परिवारले जनाएको छ ।