• १३ साउन २०८१, आइतबार

वायुसेवा निगम सुधारको बाटोमा

blog

एउटा जीवन्त संस्थाले समय–समयमा आरोह–अवरोहको स्थितिबाट गुज्रनुपर्दछ, यसैभित्र पर्दछ– नेपाल वायुसेवा निगम । गएको ६४ वर्षको आयुमा यसले कुनै बेला सफलता त कुनै बेला समस्या झेल्दै आएको छ । कुनै पनि वायुसेवा कम्पनीको उन्नतिका लागि महìवपूर्ण मानिने पक्षमा जहाजको उपयोगिता, उच्च दरको सिट उपयोग एवं गन्तव्य विस्तार पर्दछन् । 

निगम व्यवस्थापन उपरोक्त पक्षको प्राप्तिका लागि कटिबद्ध भई अहोरात्र लाग्नुपर्दछ । त्यसो त प्रत्येक व्यवस्थापन आफूले गरेको दाबी गर्दछन्, यो जनताले टुङ्गो लगाउने कुरा हो तर इमानदारी कायम राख्दै काम गर्ने हो भने असम्भव छैन र हालको अवस्थाबाट उकास्न सकिन्छ । 

निगमको टाउकोमा चारवटा विमान किन्दाको ठूलो ऋण छ, यदि विमानको पूर्ण उपभोग गर्न सकिएन भने थप विमान किन्ने परिकल्पना पूरा हुँदैन । त्यसो त निगमले चालू आर्थिक वर्ष २०७८/७९ को प्रथम आठ महिनासम्म आठ अर्ब ३९ करोड रुपियाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि हो तर यतिले मात्र लक्ष्य पूरा हुँदैन । अन्य प्रक्रिया अपनाएर आर्थिक सुधारतर्फ लाग्नुपर्दछ । 

उडान सङ्ख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ए ३२० सेरिजका दुईवटा न्यारोबडी र ए ३३० सेरिजका दुईवटा वाइडबडी जहाजको औसत सिट भरिने परिणाम ९० प्रतिशतको हाराहारीमा पुगेको छ । यो उपलब्धिको एउटा खुड्किलो हो । भएका विमानमध्ये ए३३० (वाइड बडी) दैनिक झन्डै १० घण्टा उड्न थालेको छ भने अर्को विमान ३२० घण्टाबाट बढेर झन्डै ११ घण्टा पुगेको निगमको भनाइ छ ।

निगमले आफ्नो गन्तव्य विस्तारका क्रममा यही २०७९ वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा नियमित उडान प्रारम्भ गरेको छ । नेपाली श्रमिकको आकर्षक गन्तव्य मानिएको रियादमा निमगले हाललाई हप्तामा दुईवटा उडान प्रारम्भ गरिसकेको छ भने साउदी अरेबियाको जेद्दा र दमाममा पनि निकट भविष्यमा उडान थाल्ने योजना गरेको छ । रियाद (साउदी अरेबिया) नयाँ गन्तव्य मात्र नभएर चार लाखभन्दा बढी नेपाली रहेको र यात्रुसङ्ख्या एवं भाडादरका कारणले थप आकर्षक गन्तव्य पनि हो । निगमका अन्तर्राष्ट्रिय गन्तव्यका १० ठाउँमा नियमित उडान सुचारु भएका छन् । 

निगमले आन्तरिकतर्फ काठमाडौँबाट थामखर्क, खानीडाँडा, भोजपुर, इलाम, फाप्लु, ताप्लेजुङ, दाङ, नेपालगञ्ज नियमित उडान गर्दछ भने नेपालगञ्जबाट रुकुम, डोल्पा, जुम्ला, ताल्चा, सिमकोट उडान गर्ने गर्दछ । त्यस्तै धनगढीबाट डोटी, साँफेबगर, बाजुरा र बझाङ उडान गर्दै आएको छ । यतिले मात्र निगमको दायित्व पूरा हँुदैन, विमान थपेर गन्तव्य विस्तार गर्नु आवश्यक छ ।

निगमले विश्वका प्रसिद्ध वायुसेवा कम्पनीसँग मिलेर अन्तरमहादेशीय टिकट बिक्री गरिरहेको छ, जसले गर्दा निगमको सिधा उडान नहुने विश्वका कैयौँ देशसँग यो प्रक्रियामार्पmत गन्तव्य तय गरी हजारौँ यात्रुलाई सेवा विस्तार गर्न सकिने भएको छ । यस्तो सहभागिता विमान कम्पनीबीच अन्यत्र पनि भएको छ । यस्तै २४ वटा वायुसेवा कम्पनीसँग कार्गो सम्झौता भएको छ । 

निमगले आफ्नो ६३ वर्षको इतिहासमा नै पहिलो पटक खतराजन्य पदार्थ ओसारपसार गर्नेे प्रमाणपत्र पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यो प्रमाणपत्र प्राप्त गरेसँगै निगमले दुबई, हङकङ, दिल्ली र नारिताजस्ता सेक्टरबाट उडान सुरक्षालाई असर नपार्ने खतराजन्य पदार्थ ओसार–पसार गरी थप आय आर्जन गर्न पाउने भएको छ । यस्तै नयाँ प्रयास थालिनुपर्दछ । निगमले अन्तर्राष्ट्रिय उडानमा वाइफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ तर यो कहिलेसम्ममा कार्यान्वयन हुने भने खुलेको छैन । 

जहाजमा वाइफाई सिस्टम जडानबाट यात्रुलाई थप सुविधा प्राप्त हुने, यात्रु सन्तुष्टि बढ्ने र कम्पनीलाई थप आय आर्जन हुने भएकाले अन्य विमान कम्पनीले यसलाई कार्यान्वयन गरेका छन् । विमानमा श्रव्यदृश्य सुविधा दिइएको छ, जुन अनिवार्य हो । 

निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने र व्यावहारिक कदम चाल्ने भएको छ । तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाई जहाज खरिद नीति लिने भएको छ । अन्तर्राष्ट्रियतर्पm सन् २०२४ मा अन्तर्राष्ट्रिय उडानमा एक थान वाइडबडी र दुई थान न्यारोबडी थप्ने लक्ष्य राखेको छ । योजनाअनुसार विमान थप्न सके अन्तर्राष्ट्रिय उडानमा दक्षिण कोरियाको सिओल, चीनको ग्वान्झाउ र साङ्घाई, श्रीलङ्काको कोलम्बो, भारतको अहमदावाद, इन्डोनेसिया, जर्मनीको फ्र्याङ्कफर्ट र अस्टे«लियामा उडान गर्न सकिन्छ तर हालकै अर्थिक स्थितिले त्यो कति सम्भव छ, विचारणीय छ । 

नेपाल वायुसेवा निगमले नयाँ विमान खरिदका लागि सञ्चय कोष र नागरिक कोषबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीका लागि प्रत्येक महिना कुल आयको ३० प्रतिशतले हुन आउने रकम नियमित रूपमा जम्मा गर्ने गरी कोष स्थापना गरेको छ तर यसलाई कत्तिको निरन्तरता दिन सकिन्छ, प्रश्नवाचक छ । निगमसँग दक्ष र अनुभवी जनशक्ति छ । पर्याप्त पुँजीको जोहो गर्न सके निगमलाई प्रगतिको बाटोमा लैजान सकिन्छ । 

Author

पुरु रिसाल