• २४ असोज २०८२, शुक्रबार

टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपाल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २४ गते । नेपाल बिहीबार आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्समा स्थान बनाउन सफल भएको छ । नेपालले बुधबार राति कुवेतलाई ५८ रनले हराएर विश्वकप पुग्ने अभियानमा सकारात्मक सुरुवात गरेको थियो । समूह ‘बी’ अन्तर्गत नै जापानले कुवेतलाई पाँच विकेटले हराएपछि नेपाल सुपर सिक्समा पुगेको हो । कुवेत लगातार दोस्रो खेलमा पराजित भएपछि जापान पनि सुपर सिक्समा पुगेको छ । 

चालु छनोट प्रतियोगितामा नौ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा शीर्ष दुई स्थानमा रहने टिम सुपर सिक्समा पुग्ने प्रावधान रहेको छ । नेपालले अब शुक्रबार जापानसँग खेल्ने छ । सो खेल जित्ने टिमले दुई अङ्कका साथ सुपर सिक्समा खेल्ने छ । सुपर सिक्समा शीर्ष तीन स्थानमा रहने टिम विश्वकपमा खेल्न योग्य हुने छन् । त्यसैले जापानविरुद्धको खेल सुपर सिक्समा नेपालको यात्राको सुरुवात होभन्दा फरक पर्दैन ।

एक दिनअघि ओमानको मकटमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न क्रिजमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४१ रनको सामान्य स्कोर तयार पारेको थियो । कुवेतले जवाफमा १८.१ ओभरमा ८३ रन मात्र बनाउन सक्यो ।

ललित राजवंशी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले मध्यक्रममा दुई/दुई विकेट लिएर कुवेतको पालि कमजोर बनाउनुभयो । सोमपाल कामीले दुई ओभरमा मात्र तीन रन खर्चेर प्रारम्भिक ब्याट्सम्यान राविजा सान्डरुवानलाई शून्यमा आउट गरी नेपालालई सानदार सुरुवात दिलाउनुभएको थियो । नेपालका लागि नन्दन यादव र कुशल भुर्तेलले पनि विकेट लिनुभयो । कुवेतका लागि प्रारिम्भक ब्याट्सम्यान क्लिन्टो अन्टोले २३ बलमा दुई छक्कासहित सर्वाधिक २६ रन बनाउनुभयो । उहाँको महत्वपूर्ण विकेट दीपेन्द्रसिंह ऐरीले सानदार ढङ्गले रनआउट गरी प्राप्त गर्नुभयो । क्लिन्टोबाहेक मिट भावसर (११ रन) र यासिम पटेलले (१९ रनले मात्र दोहोरो अङ्कमा रन बनाउन सक्नुभयो ।

यसअघि नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ५६ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ६६ रन बनाउनुभएको थियो । दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट हुनुभयो । गुल्सन झाले ६ बलमा २० रनको निर्णायक पालि खेल्नुभयो । गुल्सनले नवीनराज राजेन्द्रनले फालेको १९ औँ ओभरको अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गर्नुभएको थियो । सोही ओभरको सुरुका दुई बलमा भुर्तेलको ब्याटबाट दुई चौका आएको थियो । सो ओभरमा नेपालले २७ रन बटुलेको थियो । अन्तिम ओभरमा गुल्सन र भुर्तेल दुवै आउट हुनुभयो । भुर्तेल अलराउन्ड प्रदर्शनपछि सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो ।

कुवेतका कप्तान मोहम्मद असलमले पनि पहिलो पालिको १९ औँ ओभर खेलको निर्णायक मोड भएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेलको १८ औँ ओभरसम्म खेल हाम्रो पकडमा रहेको तर १९ औँ ओभरमा हामीले लय गुमायौँ तर यो क्रिकेट हो । नेपालका कप्तान रोहित भने ब्याटिङबाट खासै सन्तुष्ट हुनुभएन ।” उहाँले भन्नुभयो, “५०–१६० रन बनाउने लक्ष्य थियो तर कुवेतले राम्रो बलिङ ग¥यो । यद्यपि पिच हाइस्कोरिङ पिच थिएन । त्यसैले सामान्य स्कोर जोगाउन सक्नेमा हामीमा विश्वास थियो ।”

कुवेतका लागि अनुदीप चेन्थामारा र नवीन राजले दुई÷दुई तथा मोहम्मद असलम र अकिफ फारुकले एक/एक विकेट लिएर नेपालको पालि ठुलो हुन दिनुभएन । नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख (२), रोहित (१५), कुशल मल्ल (४) र सन्दीप जोरा (५) ले भने ब्याट्बाट खासै योगदान दिन सक्नुभएन ।