• २४ असोज २०८२, शुक्रबार

दसैँका छ दिनमा बिदेसिए चार हजार युवा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज २४ गते । देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर दसैँ मनाउने बेलामा करिब चार हजार युवा रोजगारीका लागि बिदेसिएका छन् । स्वदेशमा रोजगारीका अवसर नपाएपछि दसैँको समेत वास्ता नगरी युवा कामका लागि बिदेसिन बाध्य भएका हुन् । विदेशबाट आएको भिसाले नेपालका चाडपर्व चिन्दैन । ढिला गरे भिसाको समय सकिने डरका कारण युवा चाडपर्वको खुसी नै छोडेर विदेश गए ।

वैदेशिक रोजगार विभागका अनुसार दसैँ बिदाको फूलपातीदेखि छ दिनको अवधिमा तीन हजार ८५० जना युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् । यस अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार गएको विभागले जनाएको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले नेपाली जाने श्रम गन्तव्य देशमा बिदा नहुने भएकाले त्यस्ता देशमा जानैपर्ने श्रमिकका लागि विभागबाट सहज रूपमा श्रम स्वीकृति दिने व्यवस्था गरिएको थियो ।