गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २४ गते । नेपाल विद्युत् प्राधिकरणले आफ्ना आयोजना निर्माणका लागि २० अर्ब रुपियाँसम्मको ऊर्जा बन्ड निष्कासन गर्न अनुमति पाएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले आवश्यकता अनुसार क्रमिक रूपमा बन्ड जारी गर्ने गरी अनुमति दिएको नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले यसअघि जलविद्युत् आयोजना निर्माणमा वित्तीय स्रोत जुटाउन ऊर्जा बन्ड जारी गर्ने अनुमतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।
सोही प्रस्ताव अनुसार मन्त्रालयले बन्ड जारीको स्वीकृति दिन मन्त्रीपरिषद्मा प्रस्ताव पेस गरेको ऊर्जा सचिव चिरञ्जीवी चटौतले जानकारी दिनुभयो । “अब आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले वित्त व्यवस्थापनका लागि एउटा महत्वपूर्ण स्रोत प्रयोग गर्न पाउने भएको छ,” उहाँले भन्नुभयो, “लागत प्रभावी र आवश्यक आयोजनामा प्राधिकरणले यो उपकरणमार्फत रकम प्राप्त गर्न सक्ने छ ।”
नेपाल विद्युत् प्राधिकरणले यो उपकरणमार्फत चार वटा जलविद्युत् आयोजना निर्माणमा ऋण प्राप्त गर्ने तयारी छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको अप्पर अरुण, तामाकोशी पाँचौँ, मोदी र चैनपुर सेती जलविद्युत् आयोजना निर्माणका लागि ऋणपत्र जारी गर्ने छ ।
एक हजार ६३.३६ मेगावाट क्षमताको अर्धजलाशययुक्त अप्पर अरुण जलविद्युत् आयोजना सङ्खुवासभाको भोटखोला गाउँपालिका क्षेत्रमा निर्माण गर्न पहुँच मार्ग तथा अन्य पूर्वाधार निर्माण भइरहेको छ । दोलखाको बिगु र गौरीशङ्कर क्षेत्रमा निर्माण प्रस्ताव गरिएको ९९.८ मेगावाटको तामाकोशी पाँचौँ आयोजना प्राधिकरणकै सहायक कम्पनी तामाकोशी जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको आयोजना हो ।
१४ मेगावाटको मोदीखोला जलविद्युत् आयोजना पर्वतमा प्रस्तावित छ । सुदूरपश्चिमको रूपान्तरणकारी आयोजनाका रूपमा बझाङमा बन्न लागेको चैनपुर सेती जलविद्युत् आयोजना २१० मेगावाट क्षमताको छ । यो आयोजनाको पनि अडिट टनेल, पहुँच मार्गलगायतको पूर्वाधार निर्माण भइरहेको छ ।