टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), असोज २४ गते । गुल्मीको तम्घास–सिमिचौर–राङ्गवास–खज्र्याङ्ग सडक एक महिना बन्द हुने भएको छ । सडक पूर्वाधार विकास कार्यालय तम्घास गुल्मी मार्फत राजेश्वरी कन्स्ट्रक्सन प्रालिले सडक निर्माणको काम गरिएको छ ।
रेसुङ्गा नगरपालिका–१० मैदानदेखि वडा नम्बर ११ जन प्रावि स्कुलसम्मको सडकखण्ड आर.सि.सि. ढलान गरी सडक स्तरोन्नती गर्नुपर्ने भएकाले एक महिना सडक बन्द गर्नुपर्ने अवस्था आएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख दिपक खड्काले जानकारी दिनुभयो ।
कार्यालयले सडक बन्द गर्ने सार्वजनिक सूचनामार्फत वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । तम्घास–सिमिचौर–राङ्गवास–खज्र्याङ्ग सडक यही असोज २४ देखि कात्तिक २३ गतेसम्म सडक बन्द हुने छ । जसका लागि राङ्गबास फेँदिसम्मका स्थानीय सवारीले मैदान–हर्राबोट–सपौदि र राङ्गवास फेदी सडक र रिडी–पाल्पा अर्घाखाँची तर्फका सवारी साधनले घुम्ती–चारपाला–खज्र्याङ्ग तथा तम्घास–बलेटक्सार–रिडी वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको खड्काले बताउनुभयो ।