जनार्जन खत्री
सर्लाही, असोज २३ गते । सर्लाहीको कौडेनामा बाढीले बगाएर अवरुद्ध बनेको पूर्वपश्चिम हुलाकी राजमार्गमा भाइभर्सन बनाएपछि बिहीबारबाट चार पाङ्ग्रे सवारी साधन सञ्चालन हुन थालेका छन् ।
भीषण वर्षापछि गत शनिबार राति लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिका–३, पर्सा गाउँ नजिकै १५० मिटर पक्की सडक बगाएको थियो । उक्त स्थानमा हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुर र कौडेना गाउँपालिकाले समन्वय गरी अस्थायी डाइभर्सन निर्माण गरेसँगै बिहीबार बिहानबाट चार पाङ्ग्रे सवारी साधन गुड्न थालेका हुन् ।
कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले दुई दिन र दुई रातको अथक प्रयासपछि डाइभर्सन निर्माण गरेर राजमार्ग सुचारु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ‘वान वे’ अर्थात् एक पटकमा एउटा मात्रै चार पाङ्ग्रे सवारी वारपार गर्न मिल्ने गरी डाइभर्सन निर्माण गरिएको छ ।
बाढीले सडक बगाएको ठाउँ नजिक इँटा उद्योगबाट फुटेका इँटा र माटो ल्याएर डाइभर्सन तयार पारिएको हो । सर्लाहीको दक्षिण–पश्चिम भेगलाई सदरमुकाम मलङ्गवासँग जोड्ने मुख्य सडकको रूपमा रहेको पूर्वपश्चिम हुलाकी राजमार्ग बाढीले बगाएपछि समस्या परिरहेको थियो ।
यो ठाउँमा यसअघि स्थानीय युवा र सुरक्षाकर्मी भएर बाँस र पटाको लच्का निर्माण गरी पैदलयात्रु, साइकल र मोटरसाइकल वारपार हुने व्यवस्था मिलाएका थिए । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर बनाएको बाँस र पटाको लच्का पुरेर त्यही ठाउँमा अस्थायी डाइभर्सन बनाइएको बताउनुभयो ।
कौडेनामा बर्सेनिजसो लखन्देहीको बाढी पसेर हुलाकी सडक बगाउने गरेकाले अब भने कलभर्ट निर्माण गरेर पानी निकास हुने व्यवस्था मिलाउन पहल भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरले जनाएको छ । कार्यालयका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर कृष्णकुमार महतोले बारम्बार बाढी आएर क्षति गरिरहने कौडेनामा कलभर्ट निर्माणका लागि माथिल्लो निकायमा बजेट माग गर्दै प्रतिवेदन पठाइएको बताउनुभयो ।
यस ठाउँमा कलभर्ट निर्माण गर्न पाए बाढी आएर सडक बगाउने समस्या सधैँका लागि अन्त्य हुने उहाँको भनाइ छ । उहाँले बजेट अभावका कारण तत्कालै कलभर्ट निर्माणको काम सुरु गर्न भने समस्या रहेको जानकारी दिनुभयो ।