राजन रावत
हुम्ला, असोज २३ गते । हिमाली जिल्लामा हुने डालेचुक यस वर्ष हुम्लामा लटरम्म फलेको छ । डालेचुक फुल्ने बेला असिनापानी नपर्नु र हावाहुरी नलाग्दा डालेचुक राम्ररी फलेको हो ।
प्राकृतिक रुपमा निःशुल्क प्राप्त हुने डालेचुक यस वर्ष आफ्नो फल्ने क्षेत्रमा लटरम्म फलेको सिमकोट गाउँपालिका– ३ को तोर्पा गाउँकी छिरिङ लामाले बताउनुभयो । गत वर्ष राम्रै फलेको भए पनि यस वर्ष बढी फलेको बताउँदै अब त डालेचुक पाक्ने बेला पनि आउन लागेको उहाँले बताउनुभयो ।
घरायसी प्रयोगका लागि लामाले वर्षेनी डालेचुक सङ्कलन गर्दै आउनुभएको छ । कसैले लगाउने र संरक्षण पनि नगर्ने डालेचुकको बोट, फल र पात पनि उपयोगी हुने भएको कारण बहुउपयोगी फलको बोटका रुपमा लिने गरिन्छ ।
डालेचुक राम्रो फल्ने भए पनि यसबाट फाइदा लिन नसकिएको र यसको जुस उत्पादन गर्दै आउनुभएका व्यवसायी गोरासिंह बोहराले बताउनुभयो । आफ्नो गाउ ठेहेका महिलाहरुले डालेचुकको अमिलो बनाएर बिक्री गरेर कमाइ पनि गर्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार पेट दुख्ने, कान र मानिसको अनुहार सुन्निएको बेला औषधीका रुपमा पनि यो प्रयोग हुने गरेको छ ।
यो पाकेपछि कात्तिक महिनामा टिप्ने गरिन्छ । यसको बोटको हागामा काँडा हुने भएको कारण फल टिप्न पनि त्यति सहज भने हुँदैन । त्यसैले किसानहरुले डालेचुकको फल टिप्दा हाँगा नै काट्ने भएको कारण यसको विनाश हुने गरेको छ । दुई हजार पाँच सय मिटर उचाइदेखि तीन हजार सात सय मिटर उचाइमा डालेचुक फल्ने गर्छ ।
हुम्ला जिल्लाका सात वटै गाउँपालिकामाा यो फल्ने गर्छ । हुम्लामा विशेष गरी पुस्तौं अगाडिदेखि डालेचुक अमिलोको रुपमा प्रयोग गरिन्छ । पछिल्लो समयमा यसको जुस समेत उत्पादन गर्न थालिएको छ । त्योसँगै डालेचुकको दानामा भित्र हुने बियाँसमेत बिक्री गर्न थालिएको छ । वनस्पति विज्ञहरुले डालेचुकको बियाँबाट तेल निस्कने र त्यो क्यान्सरको औषधी हुने बताउँदै आउनुभएको छ।