• २३ असोज २०८२, बिहिबार

लमजुङमा ४७ जनामा डेंगु सङ्क्रमण पुष्टि

blog

नवीनराज कुइँकेल

लमजुङ, असोज २३ गते । लमजुङमा डेंगु सङ्क्रमणको जोखिम बढ्दै गएको छ । असोज २२ गतेसम्म जिल्लामा ४७ जना डेंगु  सङ्क्रमित भएका छन् ।

बेंसीसहरस्थित प्रदेश अस्पतालसहित जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रहरुमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामी उपचारका लागि आउनेको सङ्ख्या बढ्दै गएको छ । 

प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार असोज १ गतेदेखि २२ गतेसम्म जिल्लामा ४७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको पाइएको छ । सदरमुकाम बेंसीशहरमा मात्रै असोज महिनामा २५ जना डेंगुका बिरामी अस्पताल पुगेको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रवीणकुमार खनालले बताउनुभयो । त्यस्तै सुन्दरबजारमा १४ जना, राइनासमा ४ जना र मध्यनेपालमा ४ जना डेंगु सङ्क्रमित भेटिएको जनस्वास्थ्य कार्यालयले लमजुङले जनाएको छ । 

सदरमुकाम बेंसीसहरसहित जिल्लाका विभिन्न भागमा डेंगु सङ्क्रमणको जोखिम बढ्दै गएपछि चिकित्सकहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । जिल्लामा गत साउन र भदौ महिनामा मात्रै ९३ जनामा डेंगु  सङ्क्रमण पुष्टि भएको थियो । सो अवधिमा बेंसीशहरका मात्रै ३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको कार्यालयको तथ्याङ्क छ । सो अवधिमा राईनास नगरपालिकामा १७ जना, मर्स्याङ्दी गाउँपालिकामा ११ जना, दोर्दी गाउँपालिकामा आठजना, मध्यनेपाल, दुधपोखरी र क्होलासोँथारमा एक एक जनामा डेंगु  सङ्क्रमण देखिएको थियो । त्यसैगरी जिल्ला बाहिरका आठजना पनि डेंगु  सङ्क्रमण भएर स्वास्थ्य संस्थामा उपचार गर्न आएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । 

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेंगु  रोग सर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु डेंगु  रोगबाट बच्ने एकमात्र उपाय रहेको स्वास्थ्यकर्मीहरुको सुझाव छ ।