साहारा लिम्बू
फुङलिङ (ताप्लेजुङ), असोज २३ गते । विश्व हुलाक दिवसको अवसरमा ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । जिल्ला हुलाक कार्यालय ताप्लेजुङले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल प्रदान गरेको हो ।
अस्पतालमा भर्ना भई उपचाररत बिरामीहरूको शिघ्र स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गरी दिवस मनाइएको ताप्लेजुङ कार्यालयका निमित्त कार्यालय प्रमुख राजकुमार आलेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला हुलाक, पालिका हुलाक तथा अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीको उपस्थितिमा फलफूल वितरण गरिएको छ ।
‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नारासाथ मनाइएको दिवसको अवसरमा ताप्लेजुङमा रक्तदान कार्यक्रम समेत राखिएको थियो । तर तत्काल बिरामीलाई ब्लडको आवश्यकता नभएकाले सो कार्यक्रम भने स्थगित गरिएको निमित्त प्रमुख आलेले बताउनुभयो । जिल्लामा ब्लड बैँक नभएकाले भण्डारण गर्ने सुविधा नरहेकाले रक्तदानको कार्यक्रम स्थगित भएको बताइएको छ ।
दिवसको असरमा प्रभातफेरी तथा कार्यालय सरसफाइ समेत गरिएको कार्यालयका पदाधिकारीले जनाएका छन् । फलफूल वितरणपछि उपस्थित कर्मचारीको समुहले अस्पताल प्रशासनमार्फत प्रभातफेरी गरी कार्यालय आसपासका क्षेत्रमा सरसफाइ गरेका छन् ।