काठमाडौँ, असोज २३ गते । इजिप्ट सन् २०२६ को फिफा विश्वकपमा छनोट भएको छ ।
अफ्रिकन छनोटअन्तर्गत लार्बी जाउली रङ्गशालामा बुधबार राति भएको समूह ‘ए’ को खेलमा इजिप्टले डिजिबुटीलाई ३–० गोलले हरायो ।
इजिप्टको जितमा कप्तान मोहम्मद सलाहले उत्कृष्ट प्रदर्शन गर्नुभयो । एकपक्षीय खेलमा कप्तान सलाहले १४औँ र ८४औँ मिनेटमा दुई गोल गर्नुभएको हो ।
जितसँगै समूहको शीर्षस्थानमा रहेको इजिप्टले नौ खेलबाट २३ अङ्क बनाएको छ । यो दोस्रो स्थानमा रहेको सियरा लियोनकोभन्दा पाँच अङ्कले माथि हो । अब सबै टोलीले एक एक खेल खेल्न बाँकी छ ।
इजिप्टले चौथो पटक फिफा विश्वकपमा स्थान बनाएको हो । यसअघि उसले सन् १९३४, १९९० र २०१८ मा विश्वकप खेलेको थियो । यस्तै इजिप्ट विश्वकपमा छनोट हुने तेस्रो अफ्रिकन तथा समग्रमा १९औँ देश हो ।
यसअघि अफ्रिकाबाट मोरोक्को र ट्युनिसिया, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा एसिया प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गर्दै विश्वकपमा स्थान पक्का गरिसकेको छ ।
आयोजक देशको हिसाबले अमेरिका, क्यानाडा र मेक्सिकोले सोझै विश्वकपमा स्थान बनाएका छन् । पहिलो पटक ४८ टोलीको सहभागिता रहने सन् २०२६ को फिफा विश्वकप अगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म हुने छ । एजेन्सी