• २३ असोज २०८२, बिहिबार

विश्व दृष्टि दिवस : ट्राफिकलाई कालो चस्मा वितरण

blog

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीको आँखा जाँच हुँदै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), असोज २३ गते । “आफ्नो आँखालाई माया गरौं” भन्ने नाराका साथ विश्व दृष्टि दिवसको जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरीको जाँच तथा ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको छ । 

नेपाल नेत्र ज्योतिसङ्घ आँखा उपचार केन्द्र गुल्मीको आयोजनामा बिहीबार निःशुल्क आँखा जाँच गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले आँखा जाँचले प्रहरीको सेवा प्रवाहमा सहयोग पुग्ने बताउनुभयो । उहाँले जेनजी आन्दोलनमा खस्केको प्रहरीको मनोबलका बिच भर्खरैको बाढी र पहिरोमा सुरक्षा निकायबाट उद्वारमा देखाएको सक्रियताले नागरिक स्तरमा प्रसंशा पाउँदा सुरक्षा संयन्त्रको अपरिहार्यता बढेको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीको आँखा जाँच गरेर शिविर शुभारम्भ गरिएको थियो । अधिकारीले सडक दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै ट्राफिकको आँखाको सुरक्षा बिना सडक सुरक्षा नहुने भएकाले नेत्र ज्योति सङ्घको पहल र शिविर सुखद भएको बताउनुभयो। उहाँले दृष्टि स्वस्थ रहँदा मात्र जीवनका रङ्गिन र संसार देख्न सकिने भएकाले आँखाको नियमित जाँच र संरक्षणमा ध्यान दिन सबै प्रहरी कर्मचारीलाई आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र गुल्मीका सभापति अखिलेश्वर प्रसाद पान्डेयले मानव जीवनको अत्यन्तै संवेदनशील अङ्ग आँखाको उपचारमा सङ्घले देशभर ८० देखि ९० प्रतिशतसम्म राज्यलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घले बर्सेनि दिवसमा आश्रम, कारागार लगायतका क्षेत्रमा नियमित आँखा जाँच कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सङ्घको आँखा उपचार केन्द्रमा स्वास्थ्य बिमा सेवा पनि लागु गरिएको छ । हालसम्म रेसुङ्गा नगरपालिकासहित इस्मा, रुरुक्षेत्र, गुल्मीदरबार, छत्रकोट, सत्यवती, कालीगण्डकी र धुर्कोट गाउँपालिकाले सङ्घसँग सहकार्य गरेर नागरिकको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया हुँदै आएको छ । नेपाल नेत्र ज्योति सङ्घले तम्घासबाट आँखा उपचार तथा शल्यक्रिया तथा सिमलटारी, पुर्कोट, वामी, शान्तिपुर, रिडी र कालीगण्डकीमा छ वटा बाहिरी उपचार केन्द्रहरू सञ्चालनमा रहेका छन्।

सङ्घका अनुसार गुल्मीमा हरेक वर्ष ५०० जना मोतियाविन्दु रोगीको निशुल्क शल्यक्रिया, करिब ३५ हजार जनाको आँखा उपचार, र विभिन्न विद्यालयका १५ हजार विद्यार्थीको दृष्टि परीक्षण गरी ५०० जनालाई निःशुल्क चस्मा वितरण गरिँदै आएको नेपाल नेत्र ज्योति सङ्घ गुल्मीका सचिव पदमप्रसाद पान्डेयले जानकारी दिनुभयो। 

साथै, हरेक महिनाको ११ र १२ गते नियमित रूपमा मोतियाविन्दुको शल्यक्रिया सञ्चालन गरिँदै आएको छ। दिवसको अवसरमा १९ जना ट्राफिक प्रहरीलाई निःशुल्क कालो चस्मा वितरण गरिएको थियो। पान्डेयका अनुसार दिवसको अवसरमा सबै प्रहरीको निःशुल्क आँखा जाँच औषधी र आवश्यक परे चस्मा प्रदान गरिने सचिव पान्डेयले बताउनुभयो ।