महेशकुमार दास
जलेश्वर, असोज २३ गते । बाढीले प्रभावित भएका जलेश्वर नगरपालिकाको वडा १ र ८ का ९० घरपरिवारलाई राहत वितरण गरिएको छ । बाढीको भेलले घरवारविहीन बनाएका जलेश्वर नगरपालिका वडा १ का ४७ घरपरिवार र वडा ८ का ४३ घरपरिवारलाई राहत उपलब्ध गराइएको हो ।
बाढीले घरवारविहीन बनाएको पीडितहरुलाई पुनःस्थापनामा सहयोग गर्न उक्त राहत वितरण गरिएको हो ।
'सेभ द चिल्ड्रेन'द्वारा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत साझेदार संस्था रतौलि युवा क्लबले जलेश्वरका बाढी तथा डुबानबाट प्रभावित गरिब तथा विपन्न र कच्ची घर भएका बाढी पीडितहरुलाई राहत सामग्री वितरण गरेको क्लबका प्रमुख बैद्यनाथ चौधरीले बताउनुभयो ।
राहतस्वरुप त्रिपाल दुई थान, गर्मीको कम्बल एक थान, बेबी पैक एक सेट , एलमुनियम भुइँ म्याट एक थान, त्रिपालको डोरी एक सेट पानी फिल्टर एक सेट र भान्सा बनाउने भाँडावर्तन एक सेट गरी प्रतिपरिवारलाई १० हजार मूल्य बाराबरको राहत सामग्री वितरण गरिएको क्लबका प्रमुख चौधरीले बताउनुभएको छ ।
“जलेश्वर नगरपालिका र सम्बन्धित वडासँग समन्वय गरी बाढीले बढी प्रभावित र घरवार विहीनहरुको पहिचान गरी राहत वितरण गरेका छौं,” क्लबका अध्यक्ष चौधरीले भन्नुभयो, “यस वर्ष बाढीले सदरमुकाम जलेश्वरका सबै वडा प्रभावित हुनुका साथै अन्य वडामा पनि बाढी पीडितहरुलाई राहत वितरण गर्दै जानेछौं । ”
असोज १८ र १९ गतेका दिन अविरल वर्षासँगै रातु नदीको बाँध भत्किएर सदरमुकाम जलेश्वरमा बाढीको भेल पसेर जलेश्वरका अधिकांश भूभागका बासिन्दा पीडित हुन पुगेका थिए ।
पानीको उचित निकास नहुँदा चार दिनसम्म सदरमुकाम जलेश्वर डुबानमै परेकाे थियाे । जलेश्वरको शङ्कर चौक, नगरपालिलका चौक र बजराही जाने सडकमा भने अझै पनि बाढीको पानी सडकमै जमेका कारण स्थानीयलाई आउजाउमा समस्या हुँदै आएको छ ।