सिराज खान
नेपालगन्ज, असोज २३ गते । बाँकेमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिई कुनैपनि प्रदर्शन, जुलुस, र्याली तथा कार्यक्रम गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै प्रशासनको स्वीकृत– अनुमति बिना कुनै पनि किसिमको जुलुस, प्रदर्शन, विरोध कार्यक्रम तथा र्याली गरिएको भेटिएमा त्यसबाट पर्न जाने सम्पूर्ण क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु साहनीको हस्ताक्षरबाट प्रकाशित सूचनामा जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति नलिई कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, विरोधका कार्यक्रम नगर्न नगराउन सूचित गरिएको छ ।
अहिलेको अवस्थामा कसैले पनि बिना स्वीकृति जुलुस, प्रदर्शन तथा कार्यक्रम गर्न नहुने निर्णय सर्वपक्षीय बैठकमा भएकाले सोही आधारमा सूचना प्रकाशित गरेर सम्पूर्ण जिल्लावासीलाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत साहनीले बताउनुभयो ।
उहाँले अनुमति बिना प्रदर्शन गर्नेहरु माथि कानुन बमोजिम कारबाही हुने पनि बताउनुभयो ।
यसैबिच, दुर्गा मूर्ति विसर्जन जुलुसको क्रममा नेपालगन्जको गत शुक्रबार फुलटेक्रामा फोहोर फाल्ने घटनाका दुबै पक्षबिच सहमति र मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीले फोहोर फाल्नेले आफुले जानी जानी नफालेको तर गल्तीले खस्न गएको जनाउँदै क्षमा याचना गरेपछि एक पटकका लागि क्षमा गर्ने सहमति दुबै पक्षबिच भएकाले मिलापत्र कागज गराएर पठाइएको बताउनुभयो ।
उहाँले जिल्लामा भएका अन्य घटनाहरुको सम्बन्धमा पनि अनुसन्धान भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने जनाउनुभयो ।
उता, दुर्गा मूर्ति विसर्जनका क्रममा गत शुक्रबार भएको झडपले अवस्था तनावग्रस्त बनेपछि नेपालगन्ज १४, १५ र २३, डुडुवा ६ तथा नरैनापुर ५ मा लगाइएको निषेधाज्ञा अझै पनि जारी नै रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।