• २३ असोज २०८२, बिहिबार

सिंगाबाट दैनिक पाँच सय लिटर दुध पोखरा निर्यात

blog

सिंगामा रहेको दुध सङ्कलन केन्द्र । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  
म्याग्दी, असोज २३ गते ।
जिल्लाको बेनी नगरपालिका ४ सिंगाका पशुपालक किसानहरुले दैनिक पाँच सय लिटरभन्दा बढी दुध पोखरा निर्यात गर्न थालेका छन् । दुध उत्पादनका हिसाबले पकेट क्षेत्र सिंगाबाट पोखराको सुजल डेरीले दैनिक रुपमा दुध पोखरा लैजान थालेको हो । दुध पोखरा निर्यात हुन थालेपछि किसानहरुमा उत्साह थपिएको छ ।

सिंगामा उत्पादन भएको दुध बेनीमा बिक्री नभएपछि किसानहरुले सहकारीमार्फत पोखरा पठाउन थालेका हुन् । बास्कुना कृषि सहकारीले दुध सङ्कलन गरेर पोखराको सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो ।

वडा कार्यालयको पहलमा कृषि सहकारी र सुजल डेरी प्रा.लि.बिचमा दुध उत्पादन तथा खरिद बिक्री सम्झौता गरी जिल्लाबाट पहिलोपटक व्यावसायिक रुपमा दुध पोखरा पठाउन सुरु गरिएको बेनी नगरपालिका ४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । 

स्थानीय बजारमा गाईको दुध खपत नहुने भएपछि सहकारीले कृषकहरुबाट दुध सङ्कलन गर्ने र उद्योगले आफैँ आएर दुध खरिद गरेर लैजाने व्यवस्था मिलाइएको छ ।

बास्कुना कृषि सहकारी सस्थाले सिंगाको पुलचोकमा दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना गरेको छ । कृषकहरुले हरेक दिन केन्द्र दुध सङ्कलन गर्ने र पाँच सय लिटर बढी दुध सङ्कलन भएपछि उद्योगले आफैँ ढुवानी गरेर दुध लैजाने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष गुरुङले बताउनुभयो । 

दुग्ध सङ्कलन केन्द्रमा अहिले २० जना किसानले दैनिक रुपमा दुध बिक्री गर्न ल्याउन सुरु गरेका छन् । सुजल डेरी उद्योगको दुध ढुवानी गर्ने ट्याङ्कर अहिले दुई दिनमा एक पटक सिंगा आएर दुध ढुवानी गरी लैजान थालेको कृषि सहकारीका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

मेसिनबाट दुधको गुणस्तर मापन गर्ने र गुणस्तरका आधारमा मूल्य पाउने गरी स्थानीय स्तरमा उत्पादन भएको दुधलाई पोखरा निर्यात गर्ने प्रबन्ध मिलाइएको वडाध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार, कृषकहरुलाई १५/१५ दिनमा दुधको रकम भक्तानी हुने सम्झौता गरिएको छ ।