• २२ असोज २०८२, बुधबार

पश्चिम बङ्गालका निकुञ्जमा बाढी, वन्यजन्तु पलायन

blog

कोलकाता, असोज २२ गते । भारतमा भारी वर्षापछि पश्चिम बङ्गालका दुई प्रसिद्ध वन्यजन्तु निकुञ्ज डुबानमा परेपछि बाघ, चितुवा र हात्तीको झुण्ड भागेको राज्य अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

अक्टोबर ३ देखि राज्यभरि बाढी र भूस्खलनमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । भारी वर्षाले सयौँ घर ध्वस्त पारेको छ, चिया बगान बगाएको छ र सडक दुर्गम भएका छन् । बाढीले गोरुमारा र जलदापारा राष्ट्रिय निकुञ्जको ठुलो भाग डुबाएको छ । यो निकुञ्जले हिमाली फेदमा संरक्षित आरक्षहरूमा हात्ती, अर्ना, बाघ र लुप्तप्राय एक सिङ्गे गैँडालाई आश्रय दिएको छ ।

“दुई वटा वन्यजन्तु निकुञ्ज बाढीको पानीमा डुबेका कारण जनावर बाहिर निस्कन बाध्य भएका छन्”, पश्चिम बङ्गालका वनमन्त्री वीरबाह हंसडाले भन्नुभयो । उहाँका अनुसार ३० हात्तीको झुण्ड भागेको थियो । पानीबाट भागिरहेको देखिएको थियो । उहाँले एउटा चितुवा ‘धमिलो पानी’ मा देखिएको थियो, तर त्यसबेलादेखि देखिएको छैन । केही जनावर भाग्न सकेनन् । “नदीको किनारमा मरेका जनावरको शव निस्कन थालेको छ”, उहाँले मरेका जनावरमा दुई चितुवा, एउटा गैँडा र धेरै अर्ना र हरिण रहेको जानकारी दिँदै भन्नुभयो ।

केही उद्धार सफल भए । “नदीको किनारमा फसेको एउटा वयस्क गैँडा र दुई हात्तीको छावालाई बाहिर निकाल्न दुई बन्दी हात्ती प्रयोग गरिएको थियो”, उहाँले भन्नुभयो । भारतको एक सिङ्गे एसियाली गैँडाको जनसङ्ख्या विगत चार दशकमा संरक्षण प्रयास र अवैध शिकार विरोधी कदमका कारण लगभग तीन गुणा बढेको छ । चार दशक पहिले एक हजार पाँच सय रहेको जनसङ्ख्या अहिले चार हजारभन्दा बढी छ । रासस/एएफपी