• २२ असोज २०८२, बुधबार

सुसुमु किटागावा, रिचर्ड रोबसन र ओमार एम.याघीलाई रसायनशास्त्रमा नोबेल पुरस्कार

blog

स्टकहोम, असोज २२ गते । सुसुमु किटागावा, रिचर्ड रोबसन र ओमार एम. याघीले सन् १९८९ मा धातु-जैविक ढाँचाको विकासमा गरेको अद्वितीय अनुसन्धानका लागि रसायनशास्त्रमा नोबेल पुरस्कार साझा गर्नु भएको छ ।

रोयल स्विडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनले बुधबार स्टकहोममा पुरस्कारको औपचारिक घोषणा गर्नुभयो । नोबेल समितिले तीनै विजेताले ‘ग्यास र अन्य रसायन बग्न सक्ने ठुला स्थानसहित आणविक संरचना सिर्जना गरेको’ उल्लेख गर्दै यी संरचना मरुभूमिको हावाबाट पानी निकाल्न, कार्बन डाइअक्साइड समात्न, विषाक्त ग्यास भण्डारण गर्न वा रासायनिक प्रतिक्रिया उत्प्रेरित गर्न प्रयोग गर्न सकिने बताएको छ ।

अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयका ८८ वर्षीय रोबसन, जापानको क्योटो विश्वविद्यालयका ७४ वर्षीय किटागावा र क्यालिफोर्निया विश्वविद्यालय, बर्कलिका ६० वर्षीय याघी यस महत्त्वपूर्ण अनुसन्धानसँग सम्बन्धित हुनुहुन्छ । नोबेल समितिका अध्यक्ष हेनर लिङ्केले भन्नुभयो, “धातु-जैविक ढाँचाले नयाँ कार्यका लागि कस्टम-निर्मित सामग्रीमा अप्रत्याशित अवसरहरू प्रदान गर्दछ ।”

सन् १९०१ देखि सन् २०२४ सम्म १९५ जनालाई ११६ वटा रसायनशास्त्र पुरस्कार प्रदान गरिएको छ । सन् २०२४ को पुरस्कार जीवनको निर्माण खण्ड पत्ता लगाउन र नयाँ प्रोटिन डिजाइन गर्न शक्तिशाली प्रविधि विकास गरेका डेभिड बेकर, डेमिस ह्यासाबिस र जोन जम्परलाई प्रदान गरिएको थियो । सन् २०२५ को पहिलो नोबेल पुरस्कार सोमबार परिधीय प्रतिरक्षा सहिष्णुतासम्बन्धी आविष्कारका लागि मेडिसिनमा मेरी ई. ब्रन्को, फ्रेड राम्सडेल र डा. शिमोन सकागुचीलाई दिइएको थियो । 

मङ्गलबारको भौतिकशास्त्र पुरस्कार जोन क्लार्क, मिशेल एच डेभरेट र जोन एम मार्टिनिसलाई उपआण्विक क्वान्टम टनेलिङमा गरेको अनुसन्धानका लागि दिइएको थियो । यस वर्षको नोबेल घोषणा बिहीबार साहित्य पुरस्कारसँगै जारी हुने छ भने नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्र पुरस्कार अर्को सोमबार घोषणा गरिने छ । पुरस्कार समारोह डिसेम्बर १०, संस्थापक अल्फ्रेड नोबेलको पुण्यतिथिमा हुने छ । नोबेल स्विडेनी उद्योगपति र डायनामाइटका आविष्कारक हुनुहुन्थ्यो । उहाँको निधन सन् १८९६ मा भएको थियो । रासस/एपी