काठमाडौँ, असोज २२ गते । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले बिहीबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली टोली मङ्गलबार भियतनाम पुगेको थियो ।
खेलअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक म्याट रस र कप्तान किरणकुमार लिम्बूले भियतनामसँग खेल्नका लागि आफुहरू सम्पूर्ण रूपले तयार रहेको बताउनुभयो ।
छोटो तयारीबिच खेलाडी उच्च मनोबलका साथ भियतनाम आएको उल्लेख गर्दे प्रशिक्षक र कप्तानले उत्कृष्ट खेल प्रदर्शन गर्ने दाबी गर्नुभयो । छनोटको समूह ‘एफ’ मा रहेको नेपालले भियतनामसँगै अक्टोबर १४ तारिख दोस्रो लेग पनि खेल्ने तालिका छ ।
अक्टोबर १४ को दोस्रो लेग नेपालमा हुनुपर्ने थियो । तर, काठमाडौँको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्नका लागि एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले यो खेल पनि भियतनामकै मैदानमा खेल्न लागेको हो ।
भियतनामसँगको खेलमा लागि मुख्य प्रशिक्षक रसले अन्तिम २३ सदस्यीय खेलाडीको घोषणा गरिसक्नुभएको छ । बन्द प्रशिक्षणमा रहेका ३३ खेलाडीको सुचीबाट अन्तिम टोली सार्वजनिक गरिएको हो ।
समूहमा नेपालले लाओससँग २–१ र मलेसियासँग २–० गोलको हार खेपिसकेको छ । लगातार दुई हारसँगै नेपाल अङ्क तातिकाको अन्तिममा छ । समूहको शीर्ष टोली सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा छनोट हुने छ ।