• २२ असोज २०८२, बुधबार

इयुले रुसको ‘हाइब्रिड युद्ध’ विरुद्ध दृढ जवाफ दिनुपर्छ : भोन डेर लेयन

blog

युरोपेली सङ्घ (इयु) की अध्यक्ष उर्सुला भोन डेर लेयन ।

स्ट्रासबर्ग (फ्रान्स), असोज २२ गते । युरोपेली सङ्घ (इयु) की अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार युरोपले रुसको ‘हाइब्रिड वारफेयर’ अर्थात् मिश्रित युद्धको रणनीतिलाई रोक्नका लागि आफ्नो सुरक्षा प्रणाली बलियो बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।

“यी घटना कुनै संयोग होइनन्, न त आकस्मिक उत्पीडनका उदाहरण हुन् । यो त व्यवस्थित र विस्तार हुँदै गएको अभियान हो”, उहाँले युरोपेली संसद्मा सम्बोधन गर्दै भन्नुभयो, “दुई वटा घटना संयोग हुन सक्छन्, तर जब त्यस्ता पाँच वा १० घटना हुन्छन्, त्यो स्पष्टरूपमा युरोप विरुद्धको नियोजित र लक्षित ‘ग्रे जोन’ अभियान हो । त्यसैले युरोपले अब निर्णायक जवाफ दिनैपर्छ ।”

हालै पोल्यान्ड, इस्टोनिया र रोमानियामा रुसका हवाई आक्रमण भएको र डेनमार्क, जर्मनी तथा बेल्जियममा अज्ञात ड्रोन देखिएको बताइएको छ । युक्रेनमा मस्कोको युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा सहयोगको भविष्यबारे अनिश्चितताका कारण युरोपेली राष्ट्रले शीतयुद्धपछिको उच्च स्तरमा रक्षा खर्च बढाएका छन् ।

इयु अहिले २७ सदस्य राष्ट्रबिच संयुक्त सुरक्षा परियोजनाको योजना बनाइरहेको छ, जसमा ड्रोन विरोधी प्रतिरक्षा प्रणालीको ‘सुरक्षात्मक पर्खाल’ निर्माणको प्रस्ताव पनि समावेश गरिएको छ । “हामीले प्रतिक्रिया दिन मात्र होइन, अग्रिम रोकथाम पनि गर्नुपर्छ । यदि हामी ढिलाइ गर्छौँ भने ‘ग्रे जोन’ अर्थात् खतरा क्षेत्र झन् फैलिँदै जाने छ”, भोन डेर लेयनले चेतावनी दिनुभयो ।

उहाँका अनुसार इयुको संस्थापक उद्देश्य शान्ति कायम राख्नु हो र आजको सन्दर्भमा त्यसको अर्थ आक्रामकता र उक्साहट रोक्ने क्षमता राख्नु हो । यसै महिनाको अन्त्यमा ब्रसेल्समा हुने इयु शिखर सम्मेलनमा युरोपेली नेताले सन् २०३० सम्मका लागि रुसबाट हुने सम्भावित खतराका विरुद्ध तयारी गर्ने ‘सुरक्षा रोडम्याप’ मा सहमति गर्ने प्रयास गर्ने छन् ।

भोन डेर लेयनले भन्नुभयो, “यो रोडम्यापले साझा उद्देश्य मात्र होइन, ठोस माइलस्टोन र समयसीमा पनि निर्धारण गर्ने छ । किनभने, हामी सबैलाई थाहा छ-मापन हुने कुरा नै वास्तविकता हो ।” उहाँले ‘रुसको हाइब्रिड युद्ध’ लाई सामना गर्न युरोपेली मुलुकले ‘पूर्णरूपमा नयाँ सोच र दृष्टिकोण’ अपनाउनुपर्ने आवश्यकता रहेको पनि जोड दिनुभयो । “हाम्रो विकल्प स्पष्ट छ”, उहाँले भन्नुभयो, “हामी भाग्न सक्छौँ र रुसी खतराको विस्तार हेरेर बस्न सक्छौँ, वा हामी एकता, दृढता र सङ्कल्पका साथ तिनको सामना गर्न सक्छौँ ।” रासस/एएफपी