• २२ असोज २०८२, बुधबार

सांस्कृतिक सङ्ग्रहालयमा थारू पुस्तकालय स्थापना

blog

सन्तोष दहित

दाङ, असोज २२ गते । दंगीशरण गाउँपालिका–३, चखौरामास्थित थारू सांस्कृतिक सङ्ग्रहालयमा थारू पुस्तकालय स्थापना गरिएको छ । थारू समुदायको भाषा, साहित्य,  कला, संस्कृति, इतिहासको दस्तावेजीकरण तथा अध्ययनको माध्यम बनाउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको थारू सांस्कृतिक सङ्ग्रहालयका बजार व्यवस्थापक नरेन्द्र चौधरी जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकालय दसैँदेखि सञ्चालनमा आएको हो ।

पुस्तकालयमा अहिलेसम्म थारू समुदायसँग सम्बन्धित विविध विधाका १६५ वटा पुस्तक तथा पत्रपत्रिकाहरू सङ्कलन भइसकेका छन् । उहाँका अनुसार थारू शब्दकोष, थारू संस्कृति, थारू समुदायका विभिन्न लोकगीत सङ्ग्रह, थारू समुदाय सम्बन्धित गजल, कविता तथा साहित्यक पुस्तकहरु सङ्ग्रह गरेर राखिएको छ । त्यस्तै थारू बट्कोही, मागर, भोजाह गीत, ढुम्रु गीत, दंगीशरणका कथा वर्कीमार, गुर्बाबक जन्मौटीदेखि हमार रिति, हमार संस्कृति, गयर्वा बुडु, भूमि, किसान र राज्य, थारु सामान्यज्ञान, स्थविरहरुको प्राचीन इतिहास र संस्कृति, टीकापुर घटनाको चिरफर, टीकापुर आन्दोलन : टीकापुर कथालगायत पुस्तकहरु पुस्तकालयमा राखिएको उहाँले बताउनुभयो । 

“पुस्तकालयमा थारू, नेपाली र अङ्ग्रेजी भाषाका पुस्तकहरु छन्, उहाँले भन्नुभयो, थारू भाषा, साहित्य, लोक कला, परम्परा, राजनीतिक चिन्तन र इतिहाससम्बन्धी पुस्तकहरु अहिले राखेका छौं ।“ पूर्वको झापादेखि पश्चिमको महाकालीसम्ममा रहेका थारु समुदायसँग सम्बन्धित पुस्तकहरूको खोजी तथा खरिद कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । “सङ्ग्रहालयमा आउने पर्यटकहरूका लागि थप अध्ययनको अवसर प्रदान गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो, उहाँले भन्नुभयो,“पर्यटकहरूको माग अनुसार पुस्तकालयको आवश्यकता महसुस गरी सङ्ग्रहालयमा पुस्तकालय स्थापना गर्ने निर्णय भएको हो । अहिले पुस्तकालय सञ्चालनमा आएपछि सङ्ग्रहालय अवलोन गर्न आउने पर्यटकहरू पुस्तकालयमा छिर्नुहुन्छ, र आरामा गर्दै पुस्तक पनि अध्ययन गर्नुहुन्छ ।”

थारू समुदायसम्बन्धी सामग्रीहरू मात्र नभई भविष्यमा अन्य समुदायसँग सम्बन्धित पुस्तकहरू पनि सङ्ग्रह गर्ने योजना बनिरहेको उहाँले बताउनुभयो ।  यसले विभिन्न समुदायबीचको सांस्कृतिक आदानप्रदानलाई प्रवर्धन गर्नेमा थप सहयोग उहाँको भनाइ थियो ।  

थारू समुदायको मौलिक कला, संस्कृति, परम्परा र जीवनशैलीलाई संरक्षण तथा प्रवर्धन गर्ने लक्ष्यसहित २०७० सालमा थारु सांस्कृतिक सङ्ग्रहालयको स्थापना गरिएको थियो । अब पुस्तकालय स्थापना भएपछि सङ्ग्रहालयले थप अध्ययन, अनुसन्धानात्मक लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस पुस्तकालयको विकासले थारू समुदायको पहिचान सुदृढ गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिकताको अध्ययन र अनुशीलन गर्ने अवसर प्रदान गर्नेमा सहयोग पुग्ने चौधरीले बताउनुभयो ।