• २२ असोज २०८२, बुधबार

सगरमाथा नजिकै फसेका करिब हजार पर्वतारोहीको सकुशल उद्धार

blog

बेइजिङ, असोज २२ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती पठारमा सप्ताहन्तमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको चिनियाँ राज्य मिडियाले जानकारी दिएको छ ।

हालका वर्षमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ । यो वर्षको आठ दिने राष्ट्रिय बिदाका अवसरमा हजारौँ पर्यटक र बाहिरी खेलप्रेमी यस क्षेत्रका प्रसिद्ध ट्रेकिङ मार्गमा पुगेका थिए । तर सप्ताहन्तमा परेको तीव्र हिमपातले धेरै शिविर पुरिँदा यात्रु फस्न पुगेका थिए । 

त्यसपछि उद्धारकर्मीले अग्निशामक, घोडा, याक र ड्रोनसम्म प्रयोग गरी ठुलो मात्रामा उद्धार अभियान सञ्चालन गरेका थिए । राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार पाँच सय ८० जना पर्वतारोही र तीन सयभन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठाला सुरक्षितरूपमा नजिकैको बस्तीमा फर्किएका छन् । 

उद्धार टोलीले लगभग एक दर्जन थप पर्वतारोहीलाई आपूर्तिसहित नजिकैको बस्तीमा पुर्‍याएका छन् । सबै जना सुरक्षितरूपमा फर्किएपछि सगरमाथा नजिकको उद्धार अभियान औपचारिक रूपमा समाप्त भएको बताइएको छ । यद्यपि अप्रत्याशित चरम मौसमका कारण नजिकका अन्य क्षेत्रमा क्षति पुगेको जनाइएको छ ।

छिमेकी किङ्घाई प्रान्तमा एक हाइकरको हाइपोथर्मिया र उचाइ रोगका कारण मृत्यु भएको राज्य मिडियाले सोमबार पुष्टि गरेको छ । यसैबिच, नेपाल र भारतको सिमानामा भारी वर्षाले निम्त्याएको बाढी र भूस्खलनबाट ७० जनाभन्दा बढीको मृत्यु भएको अधिकारीले जनाएका छन् । उद्धारकर्मीले दुर्गम पहाडी बस्तीमा पुग्न अहिलेसम्म पनि कठिनाइ भोगिरहेका छन् । रासस/एएफपी