• २२ असोज २०८२, बुधबार

सरकारको पहिलो प्राथमिकता निर्वाचन : सञ्चारमन्त्री खरेल

blog

गोरखापत्र संस्थानको स्थलगत अनुगमनका क्रममा धारणा राख्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र सचिव राधिका अर्याल, संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीसहित । तस्बिरः कविन अधिकारी

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारको पहिलो प्राथमिकता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउने काम भएकाले कुनै पनि हालतमा फागुन २१ गतेको निर्वाचन सफल बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । 

गोरखापत्र संस्थान केन्द्रीय कार्यालयको आज स्थलगत अनुगमन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । निर्धारित फागुन २१ मा निर्वाचन सम्पन्न नभए मुलुक अर्को भ्याकुममा प्रवेश गर्ने र त्यो हुनदिने छुट नरहेको उहाँको भनाइ छ । “मुलुकलाई थीतिमा राख्न निर्वाचन गर्नैपर्छ, निर्वाचन समयमै सफलतापूर्वक सम्पन्न गर्ने वातावरण मिडियाले बनाउनुपर्छ” उहाँले भन्नुभयो ।


चुनाव गर्नु हुन्न भन्ने पक्षमा कोही दल र नागरिक नरहेको चर्चा गर्नुहुँदै मन्त्री खरेलले भन्नुभयो, “निर्वाचन गराउन नसके मुलुकमा अर्को जोखिम आइपर्छ, निर्धारित समयमा निर्वाचन गराउनै पर्छ ।” यो सरकार जेनजी आन्दोलनको बलमा बनेको सरकार भएकाले पब्लिकको आवाजलाई गोरखापत्रले प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । 

जेनजी आन्दोलनमा जनधनको क्षति भएकाले पुनर्स्थापनाका लागि सरकारले तयारी गरिरहेको बताउँदै उहाँले जेनजी आन्दोलनको माग मुलुकमा सुशासन कायम गर्नु रहेको बताउनुभयो । जेनजीको माग नै अहिले आम जनताको खास माग भएकाले त्यसको सम्बोधनमा सबैले ध्यान दिनुपर्ने चर्चा गर्नुभयो । 

गोरखापत्र संस्थानको प्रकाशनलाई ‘जनताको आवाज’ बनाउन आग्रह गर्नुहुँदै सरकार र मन्त्रीको भजन मात्र गाउन आवश्यक नरहेको उहाँले बताउनुभयो । मन्त्री खरेलले भन्नुभयो, “गोरखापत्र संस्थानको प्रकाशनको लेआउट डिजाइनमा मुख्य ध्यान दिनुहोला, त्यसपछि जनताको विषयलाई प्राथमिकतामा राखेर कन्टेन्ट्स तयार गर्नु होला । मन्त्रीहरूको भजन गाउनु पर्दैन । मेरो त झन पर्दैन ।”

गोरखापत्रमा सामाजिक कन्टेन्ट्स कभरेज राम्रो भए पनि जेनजीको आवाजलाई प्राथमिकतामा राख्न उहाँले निर्देशन दिनुभयो । गोरखापत्रको कन्टेन्ट्समा निकै मिहिनेत गर्नुपर्ने अवस्था छ, त्यसमा तपाईंहरू लाग्नुहोस् उहाँले भन्नुभयो, “हिजोसम्म पत्रिका भनेकै गोरखापत्र हो भन्ने आम बुझाई थियो, त्यो विरासतलाई कायम गर्नु नै अहिलेको चुनौती हो ।” गोरखापत्रलाई सबैको साझा पत्रिका बनाउन उहाँले आग्रह गर्नुभयो । 

गोरखापत्रमा ९० प्रतिशतभन्दा बढी विज्ञापन सरकारी आउने गरेकाले भरथेग भएको बताउँदै उहाँले अनलाइन प्रकाशनलाई अब विज्ञापन वृद्धि गर्न सुझाव दिनुभयो । अब डिजिटल युगको भविष्य भएकाले अनलाइनलाई समयअनुसार प्रतिस्पर्धी बनाउन सुझाव दिनुभयो । अनलाइनमा थप विज्ञापन प्रकाशनको वातावरण बनाउनमा ध्यान दिन आग्रह गर्नुभयो । गोरखापत्र अनलाइन प्रकाशन कन्टेन्ट्सको हिसाबले राम्रो अवस्थामा रहेको उहाँले चर्चा गर्नुभयो । 


गोरखापत्र संस्थानको प्रकाशन युवामञ्चलाई युवामाझ लोकप्रिय बनाउने गरी कन्टेन्ट्स उत्पादन गर्न उहाँले आग्रह गर्नुभयो । त्यस्तै, मुना मासिकलाई हरेकको मोबाइलमा पढ्न सक्ने गरी विकास गर्न उहाँले सुझाव दिनुभयो । बालबालिकाहरू मोबाइलमै मुना मासिकको कन्टेन्ट्स पढ्न सक्ने गरी व्यवस्थापन गर्न उहाँको सुझाव छ । त्यस्तै, साहित्यिक मासिक मधुपर्क र गोरखापत्र दैनिकको विचार पृष्ठलाई पठनीय बनाउन उहाँले निर्देश गर्नुभयो । राइजिङ नेपाल अंग्रेजी पत्रिकालाई पनि प्रतिस्पर्धी बनाउन सुझाव दिनुभयो । 

गोरखापत्रको आफ्नो गर्विलो इतिहास र विरासत रहेकाले त्यहीअनुरूप कन्टेन्ट्स पनि बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी उत्पादन गर्न उहाँले निर्देश गर्नुभयो । गोरखापत्रमा जनशक्तिको अभाव नरहेको र त्यसलाई समय अनुकुल प्रतिस्पर्धी बनाउनमा ध्यान दिन उहाँले व्यवस्थापनलाई निर्देश गर्नुभयो ।

गोरखापत्रको प्रकाशन वि.सं. १९५८ वैशाख २४ देखि सुरु गर्दै राणा प्रधानमन्त्री देव शमशेरले लिनु भएको पहल निकै दूरदर्शी भएको बताउँदै उहाँले वाद र समय कुन हो भन्दा पनि त्यहाँ काम कस्ता भए भन्ने चिजको महत्त्व हुने बताउनुभयो । राणाकालमा गोरखापत्र पत्रिका सुरु गरेर राणा प्रधानमन्त्री देव शमशेरले ऐतिहासिक काम गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले गोरखापत्रको प्रकाशनलाई राष्ट्रको सञ्चार माध्यम बनाउनमा ध्यान दिन आग्रह गर्नुभयो । सही र सत्य सूचना गोरखापत्रमा मात्र पाइन्छ भन्ने ‘मानक’ स्थापित रहेको बताउँदै उहाँले त्यो गरिमालाई खस्कन नदिन सुझाव दिनुभयो । मन्त्रालयको तर्फबाट हुने साथ र सहयोग जहिले भइरहने उहाँले प्रतिबद्धता जनाउनुभयो । 


सो अवसरमा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थानको प्रकाशनलाई समय सुहाउँदो र प्रतिस्पर्धी बनाउने काममा व्यवस्थापन लागिपरेको बताउनुभयो । मन्त्रालयबाट हुने साथ, सहयोग र मार्गनिर्देशनको अपेक्षा सदैव रहने बताउँदै उहाँले संस्थानको भौतिक संरचना निर्माणमा सहयोग गर्न मन्त्री र सचिवसमक्ष आग्रह गर्नुभयो । 

गोरखापत्र संस्थानको भवन निर्माण गर्न र लामो समयदेखि रोकिएको कर्मचारीहरूको बृत्ति विकासको काममा सहयोग गर्न उहाँले मन्त्री खरेल तथा सचिव अर्यालसमक्ष आग्रह गर्नुभयो । महाप्रबन्धक ऐरीले गोरखापत्र संस्थानको स्थापनाकालदेखि अहिलेसम्म भएको प्रगति र गतिविधिबारे संक्षेपमा जानकारी गराउनुभएको थियो । १२५ वर्षमा टेकेको गोरखापत्र आफैमा नेपाली पत्रकारिताको विश्वविद्यालय भएको र यसको साख गिर्न नदिनमा संस्थान व्यवस्थापन चनाखो रहेको उहाँले जानकारी गराउनुभयो । 


कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले सरकारसँग लिनेभन्दा सरकारलाई दिनेगरी संस्थानले काम गरिरहेको बताउनुभयो । जनताको आवाजलाई कन्टेन्टको रूपमा प्राथमिकता दिएर प्रकाशन गरिरहेको उहाँले जानकारी गराउनुभयो । 

अनुगमनका क्रममा मन्त्री खरेल, सचिव अर्यालसहित मन्त्रालयका प्रतिनिधिहरूले गोरखापत्र संस्थानका कार्यालय अनुगमन गर्नुभएको थियो । सो अवसरमा मन्त्री खरेलका प्रमुख स्वकीय उद्धव भट्टराई, गोरखापत्र संस्थानका सञ्चालक समिति सदस्य तथा गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादक लक्की चौधरी, संस्थानको व्यवस्थापन सल्लाहकार रामकृष्ण अधिकारी, राइजिङ नेपालका निमित्त सम्पादक विष्णुप्रसाद गौतम, गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक रामप्रसाद आचार्य, प्रशासन विभाग प्रमुख रेखादेवी श्रेष्ठ, उत्पादन विभाग प्रमुख ओम भुषाल, डिजिटल संयोजक नारदमुनि गौतम, फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईसहित विभागीय प्रमुख र शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।