• २२ असोज २०८२, बुधबार

दाङको राजपुर जोड्ने हुलाकी सडक निर्माण सुरु

blog

निर्माणको पर्खाइमा रहेको बाँकेको राप्ती साेनारीदेखि दाङको राजपुर जोड्ने सडक । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, असोज २२ गते । हुलाकी राजमार्ग निर्देशनालयले बाँकेको राप्ती सोनारी गाउँपालिका–३, नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडक खण्डको निर्माण प्रक्रिया अगाडि बढाएको जनाएको छ । हुलाकी सडक निर्देशनालय, आयोजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले सो खण्डमा सडक निर्माण नगरिए हुलाकी राजमार्ग अधुरै रहने निस्कर्षसहित निर्माणको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।  

उहाँले यो खण्डमा निर्माण कार्य अगाडि बढाउन स्रोत सुनिश्चितताका लागि सम्बिन्धित निकायमा फाइल पेस गरी सकिएको जनाउँदै केही समयमै स्रोत सुनिश्चितता हुने र सो पश्चात ठेक्का व्यवस्थापनको काम अगाडि बढाइने बताउनुभयो।   

आयोजनाका अनुसार नारायणपुर–राजपुर सडक खण्ड निर्माण गर्न निर्देशनालयले केही वर्षअघि नै गुरुयोजना (डिपीआर) तयार गरिसकेको थियो । गुरुयोजनाअनुसार यो खण्ड निर्माण गर्न करिब ६ अर्ब रुपियाँ बजेट लाग्ने अनुमान गरिएको छ ।

आयोजना कार्यालय नेपालगन्जका प्रमुख भण्डारीले यो खण्डको करिब ३५ किलोमिटर सडक निर्माणको काम सम्पन्न गर्न करिब चार वर्ष समय लाग्ने जनाउँदै सो सडक खण्डमा करिब १५ वटा पुलनिर्माण गर्नुपर्ने देखिएको बताउनुभयो । उहाँले उक्त सडक खण्डको ३५ किमी क्षेत्रमध्ये आधा भन्दा बढी अर्थात् १८ किमी जङ्गल क्षेत्र रहेको पनि बताउनुभयो । 

प्रमुख भण्डारीले थप्नुभयो, ‘हाम्रो कार्य क्षेत्रमा हुलाकी सडकको काम लगभग सकिएको छ, तर बाँके र दाङ जिल्लालाई जोड्ने मुख्य सडकको काम रोकिएकोले अब अगाडि बढाइने छ ।’ छोटो दूरी र सहजताका कारण निर्माण सम्पन्न भइसकेको नेपालगन्जदेखि अगैयासम्मको स्थानमा सर्वसाधारणका सवारी साधनले हुलाकी सडक नै प्रयोग गर्ने गरेको आयोजनाले जनाएको छ । 

दाङको कालाकाटेबाट गढवा हुँदै राजपुर गाउँपालिका कार्यालयको मुख्य प्रशासनिक भवनसम्म सडक निर्माण सम्पन्न भइसकेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ । त्यस क्षेत्रका कतिपय स्थानमा निर्देशनालयले पुल समेत बनाइसकेको छ ।  

बाँकेको नारायणपुरबाट दाङको राजपुरसम्मको करिब ३५ किमी खण्डको स्रोत सुनिश्चितता प्राप्त गर्ने अन्तिम अवस्थामा पुगेको हुलाकी सडक निर्देशनालय, आयोजना कार्यालय नेपालगन्जका प्रमुख भण्डारीले बताउनुभयो । सो सडक खण्डभित्र सडक निर्माण गर्दा रुखबिरुवामा ठुलो क्षति पुग्ने दाबी गर्दै वातावरणविदहरूले अदालतमा मुद्दा समेत दायर गरेको जनाइएको छ ।