नयाँदिल्ली, असोज २२ गते । भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा मङ्गलबार राति ठूलो भूस्खलनको भग्नावशेष बसमा ठोक्किँदा कम्तीमा १५ जनाको निधन भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
दुर्घटना विलासपुर जिल्लाको पहाडी भागमा भएको हो । केही दिनदेखि भइरहेको अविरल वर्षापछि पहाड खस्दा सो बस भग्नावशेषमा परेको हो । बसमा करिब २० देखि २५ जना यात्रु सवार रहेका थिए । मृतकमध्ये नौ जना पुरुष, चार जना महिला र दुई जना बालबालिका रहेको प्रहरीले जनाएको छ ।
राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार तीन जना घाइते बालबालिकालाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । अन्य बेपत्ता यात्रुहरूको खोजीका लागि उद्धार कार्य बुधबार पनि जारी रहेको प्रहरीले जनाएको छ ।
गत सोमबारदेखि हिमाचल प्रदेशमा लगातार वर्षा भइरहेको छ । वर्षाले कमजोर पहाडी भूभागहरूलाई अस्थिर बनाएको बताइएको छ ।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुःखद घटनामा शोक व्यक्त गर्नुभएको छ ।
यस वर्षको तीव्र वर्षाले दक्षिण एसियाका धेरै देशहरू—भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, अफगानिस्तान, माल्दिभ्स र नेपालमा बाढी र भूस्खलनजस्ता प्रकोपहरू निम्त्याइरहेका छन् ।
गत अगस्टमा भारतको उत्तराखण्ड राज्यको एउटा गाउँलाई आकस्मिक बाढीले पूर्णरूपमा बगाएको थियो । सोही सप्ताहान्तमा छिमेकी नेपालमा पहिरो जाँदा र भारी वर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको थियो ।
सप्ताहान्तको भारी वर्षा नेपालको मनसुन अन्त्यतिर आएको हो । मनसुन सामान्यतया जुन महिनामा सुरु भई सेप्टेम्बरको मध्यतिर समाप्त हुन्छ । यसले राजधानी काठमाडौँका केही भागमा समेत बाढी ल्याएको र शनिबार सबै आन्तरिक उडानहरू रद्द भएको थियो ।
जलवायु विज्ञहरूका अनुसार मानवजन्य जलवायु परिवर्तनले दक्षिण एसियाको मनसुनलाई अझ अस्थिर र तीव्र बनाइरहेको छ । एक समय पूर्वानुमान गर्न सकिने वर्षा अब अनियमित रूपमा हुने गर्छ । छोटो अवधिमा अत्यधिक वर्षा हुने र त्यसपछि लामो सुक्खा ल्याउने समयले यो क्षेत्रका जनजीवनमा गम्भीर चुनौती थपेको छ । रासस/एपी