• २३ असोज २०८२, बिहिबार

वीरगञ्जको होटलमा बाबु-छोरा मृत फेला

blog

दिपकप्रसाद गौतम 

वीरगञ्ज, असोज २२ गते । वीरगञ्जको नयाँ बसपार्कस्थित भानुचोकमा रहेको शाह पाराडाइज होटलमा बास बसेका बाबु र छोरा होटलको कोठामा मृत अवस्थामा फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार छिमेकी राष्ट्र भारतको वेस्ट बङ्गाल भुवनेश्वरका नागरिक रहेका ६७ वर्षीया सजल आचार्य र २४ वर्षीया सागर आचार्य भानुचोकमा रहेको होटलको कोठामा मृत फेला परेका हुन् । 

होटलले दिएको जानकारी अनुसार ती बाबु छोराले उपचारको लागि नेपाल आएको उल्लेख गर्दै असोज १९ गते आइतबार दुई दिनको लागि भनेर कोठा बुक गरेका थिए । आइतबार साँझ र सोमबार बिहान होटलमा खाना खाएका तर सोमबार साँझ र मङ्गलबार बिहान खाना खान आएका थिएनन् । 

होटलका कर्मचारीले मङ्गलबार दिउँसो करिब ४ बजेतिर होटलको कोठा ढक—ढक्याउँदा कसैले नखोलेको र कोठा भित्रबाट बन्द रहेकाले शंकास्पद लागी ढोकामाथिको भेन्टिलेशनबाट हेरेका थिए । कोठामा एक जना पङ्खामा झुन्डिएको एक जना बेडमा नै लम्पसार अवस्थामा रहेको देखेपछि होटलका कर्मचारीले प्रहरी चौकी बसपार्कलाई खबर गरेका थिए ।   

प्रहरी चौकी बसपार्क र जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले मङ्गलबार राती करिब ८ बजेतिर उक्त कोठाको भेन्टिलेसनबाट हेर्दा बुवा सजन आचार्य ओछ्यानमा मृत देखिएको र छोरा सागर आचार्य पङ्खामा झुन्डिएको अवस्थामा देखेको थियो । 

प्रहरीले उक्त कोठा रातभर निगरानी राखी बुधबार बिहान वीरगञ्ज महानगरपालिका वडा १६ का वडा अध्यक्ष परशुराम चौरसियाको रोहवरमा कोठाको लक तोडेर कोठा खोली सर्जिमिन मुचुल्का गरेर परीक्षणका लागि शव नारायणी अस्पतालमा पठाएको छ ।  

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक लम्सालले मृत्युको कारण पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि खुल्ने बताउनुभयाे ।