• २२ असोज २०८२, बुधबार

दुई करोडभन्दा बढीका खसीबोका बिक्री

blog

राप्तीसोनारी –७ फत्तेपुरमा रहेको रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थामा ल्याएका खसीबोका । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज २२ गते । दसैँ अवधिभर बाँके जिल्लाबाट दुई करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत दुई करोड रुपियाँभन्दा बढीको खसीबोका जिल्ला बाहिर निर्यात भएका हुन् ।

दसैँ सुरु भएदेखि असोज २० गतेसम्म जिल्लामा रहेका विभिन्न १४ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमार्फत उक्त खसीबोका बिक्री भएका छन् । जिल्लाको विभिन्न स्थानमा रहेका १४ वटा सहकारीमार्फत दुई करोड ३८ लाख १० हजार ८१७ रुपियाँ बराबरका ४३ हजार ५९३ किलो तौल भएका १ हजार ३५१ वटा खसीबोका सहकारीमार्फत बिक्री भएर देशको विभिन्न सहरमा निर्यात भएका हुन् ।

दसैँमा सबैभन्दा बढी राप्तीसोनारी –९ ढकेरीस्थित सङ्घर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले कारोबार गरेको छ । संस्थाका प्रबन्धक भूपेन्द्र खड्काका अनुसार सो सहकारीले ३१ लाख ८१ हजार ७५० रुपियाँ बराबरका ५ हजार ७८५ किलो तौल भएका १७८ वटा खसीबोका बिक्री गरेको छ । 

त्यसपछि राप्तीसोनारी –७ लालपुरमा रहेको परिवर्तनले ३१ लाख ६८ हजार ८७० रुपियाँका खसीबोका बिक्री गरेको छ । संस्थाका व्यवस्थापक पम्फा परियारले उक्त रकम बराबरका ५ हजार ९७९ किलोग्राम तौल भएका २१३ वटा खसीबोका बिक्री गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी राप्तीसोनारी –७ फत्तेपुरमा रहेको रोशनी साउमससंले २५ लाख ८३ हजार ९०० रुपियाँ बराबरको ४ हजार ७८५ किलो तौल भएका १४५ वटा खसीबोका बिक्री गरेको संस्थाका व्यवस्थापक नसरुदिन शेषले जानकारी दिनुभयो । 

राप्तीसोनारी –२ खोरीयास्थित जननी साउमससंले २४ लाख २७ हजार ३६० रुपियाँ बराबरका ४ हजार ४७१ किलो तौल भएका १४८ वटा खसीबोका बिक्री गरेको प्रबन्धक गणेश खत्रीले जानकारी दिनुभयो ।

कुसुम साउमससंले २३ लाख ६५ हजार ८२५ रपियाँका खसीबोका बिक्री गरेको प्रवन्धक गङ्गा खुनाले जानकारी दिनुभयो । उहाँका अनुसार ४ हजार ३३९ किलो तौल भएका ९५ वटा खसीबोका बिक्री भएका हुन् ।

त्यसैगरी राप्तीसोनारी –४ धामपुरस्थित सुनकोशी साउमससंले २० लाख ३३ हजार २७ रुपियाँका खसीबोका बिक्री गरेको व्यवस्थापक दिपा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार ३ हजार ६५३ किलोग्राम तौल बराबरका १११ वटा खसीबोका बिक्री भएका थिए ।

बैजनाथ –४ एकासीनगरस्थित बैजनाथ साउमससंले १९ लाख ७५ हजार रुपियाँका खसीबोका बिक्री गरेको व्यवस्थापक प्रमोद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार ३ हजार ५९० किलोग्राम तौल बराबरका ११० वटा खसीबोका बिक्री भएका हुन् ।

राप्तीसोनारी –६ टेपरीस्थित नयाँ सिर्जनशील साउमससंले १८ लाख ८८ हजार ४२५ रुपियाँ बराबरका ३ हजार ४३३ किलो तौल भएका १०४ वटा खसीबोका बिक्री भएको प्रबन्धक दिव्या गुरुङले बताउनुभयो ।

अप्सरा साउमससंले ११ लाख ५७ हजार ८०० रुपियाँ बराबरका खसीबोका बिक्री गरेको व्यवस्थापक झुपा विष्टले बताउनुभयो । उहाँका अनुसार २ हजार १७ किलोग्राम तौल बराबरका ६७ वटा खसीबोका बिक्री भएका हुन् ।

बैजापुर साउमससंले १० लाख ६३ हजार ९१० रुपियाँ बराबरका खसीबोका बिक्री गरेको छ । व्यवस्थापक चन्द्र थारुका अनुसार १ हजार ९४५ किलोग्राम बराबरका ६१ वटा खसीबोका बिक्री गरिएको हो ।

कोहलपुर साउमससंले १० लाख ३६ हजार ७४० रुपियाँका खसीबोका बिक्री गरेको व्यवस्थापक नवीन साहुले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार ८६८ किलोग्राम तौल बराबरका ६० वटा खसीबोका बिक्री भएका हुन् ।

सशक्तीकरण साउमससंले ३ लाख ९२ हजार ९७५ रुपियाँका खसीबोका बिक्री गरेको लेखापाल उमेशराज कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार ७१४ किलोग्राम तौल बराबरका २३ वटा खसीबोका बिक्री भएका हुन् ।

बैजनाथ – ८ टिटहरियामा रहेको दिपलगन साउमससंले ३ लाख ५९ हजार ६६० रुपियाँका खसीबोका बिक्री गरिएको व्यस्थापक गौमती गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ६७७ किलोग्राम तौल बराबरका २३ वटा खसीबोका बिक्री भएका छन् ।

सङ्गिनी साउमससंले १ लाख ७५ हजार ६०५ रुपियाँका खसीबोका बिक्री गरेको व्यवस्थापक पार्वती खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार ३३७ किलोग्राम तौल बराबरका १३ वटा खसीबोका बिक्री भएका हुन् ।

बाँकेमा पछिल्लो समयमा बाख्रापालनतर्फ किसान आकर्षित भएका छन् । सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमार्फत किसानले बाख्रापालन गर्दैआएका हुन् । जिल्लाका आठ पालिकामध्ये धेरैजसो राप्तीसोनारी गाउँपालिकाका किसानहरू बाख्रापालनतर्फ बढी आकर्षित भएका छन् । राप्तीसोनारीमा जङ्गल क्षेत्र बढी भएका कारण पनि यहाँका किसानहरू यस पेसातर्फ आकर्षित भएका हुन् । 

किसानले पालेका खसीबोकाहरु सहकारी संस्थामार्फत बिक्री गर्दैआएका छन् । किसानसँग सहकारीले खरिद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो १० रुपियाँसम्म नाफा खाएर बिक्री गर्दैआएका छन् । अन्य समयभन्दा दसैँको समयमा बढी खसीबोका बिक्री हुने गरेको छ । बाख्रापालनबाट महिला किसानहरू आत्मनिर्भर बन्दैगएका छन् ।