अमरगढी साचारदाता
डडेलधुरा, साउन २२ गते । देशभरबाट मनसुन बाहिरिएपछि डडेलधुरा सदरमुकामलगायत आसपासका क्षेत्रमा वर्षा सुरु भएको छ । सोमबार दिउँसोदेखि छिटफुट वर्षा सुरु भए पनि राति ठुलो वर्षा भएको छ । यो वर्षा किसानका लागि वरदान साबित भएको छ । यो वर्षाका कारण हिउँदे बाली लगाउनका लागि खनजोत गर्न सजिलो भएको छ ।
मङ्गलबार पनि वर्षा जारी रहेको जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय डडेलधुराका प्रमुख श्याम सुनारले बताउनुभयो । उहाँका अनुसार बुधबार दिउँसोदेखि बिहीबार दिउँसोसम्म डडेलधुरा जिल्ला सदरमुकामको खलङ्गामा ४५ मिलिमिटर वर्षा भएको छ । निरन्तर जस्तै वर्षा भइरहेकाले शुक्रबार दिउँसोसम्म १५० मिलिमिटरसम्म वर्षा हुन सक्ने उहाँले बताउनुभयो । हाल पश्चिमी वायुको प्रभावले वर्षा भइरहेको र शुक्रबार मध्याह्न १२:०० बजेसम्म यसको प्रभाव रहन सक्ने उहाँले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको बाजुरा र दार्चुला जिल्लाबाट पश्चिमी वायुको प्रभाव बाहिरिने अनुमान गरिएको उहाँको भनाइ छ । असोज महिनाको पहिलो सातादेखि नै ठुलो वर्षा नभएको डडेलधुरामा बर्खे खेतीपाती भित्र्याउन सहज भएको थियो ।
कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार आलु लगाउने समयमा ठुलो वर्षा भए कुहिने समस्या हुन्छ । पहिलो सातापछि वर्षा नहुँदा आलु लगाउनुका साथै धानबाली भित्र्याउन किसानलाई सहज भएको उहाँले बताउनुभयो तर सबै किसानले आलु लगाई नसकेको उहाँले जानकारी दिनुभयो ।
डडेलधुरामा असोज महिनाभरि र कात्तिक पहिलो सातासम्म आलु खेती लगाइने गरिन्छ । अहिले भइरहेको वर्षाले आलु लगाउन केही ढिलाइ हुने उहाँले बताउनुभयो । किसानले पूर्ण रूपमा धानबाली पनि भित्र्याई नसकेको उहाँले बताउनुभयो । अहिले भइरहेको वर्षाले पाकेको धानलगायत दलहन बाली भित्र्याउन र आलु खेती गर्न ढिलाइ भएपछि हिउँदे बाली लगाउन राहत भएको उहाँको भनाइ छ । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको एक लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ । कृषि विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी केशव पाण्डेयका अनुसार सुदूरपश्चिम प्रदेशमा कुल खेतीयोग्य जमिन तीन लाख ५९ हजार ९११ हेक्टर क्षेत्रफल रहेको छ ।
डडेलधुरामा छ हजार १२० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको अनुमान छ । यो क्षेत्रफलमध्ये २० प्रतिशत अर्थात् एक हजार २२४ हेक्टरमा छरुवा घैया धान लगाइन्छ । करिब दुई सातासम्म पानी नपर्दा यहाँको जमिन सुक्खा भइसकेको थियो । प्रायः पाखो जमिन भएकाले हिउँदे बालीलगायत खनजोत गर्न समस्या भइसकेको उहाँले बताउनुभयो । पाखो जमिन सुक्खा हुँदा खनजोत गर्न नसकिने अवस्था भइसकेको थियो । उहाँले भन्नुभयो, “अहिले भइरहेको वर्षाले किसानलाई खनजोत गर्न निकै सहज भएको छ ।”
पानी नपर्दा जमिन सुक्खा भई हाते ट्याक्टरलेसमेत जोत्न नसकेर छोडेका थियाैँ। किसान धनबहादुर बोहराले भन्नुभयो, “पानी परे जोत्ने आशामा थियौँ, हिजोदेखिको पानीले खनजोत गर्न र गहुँलगायतका हिउँदे बाली छर्न आद्रता पुगेको छ ।” जिल्लामा एक हजार २२२ हेक्टर क्षेत्रफलमा आलु खेती गरिँदै आएको तथ्याङ्क राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डडेलधुराको छ । बर्खे र हिउँदे गरेर डडेलधुरामा दुई सिजनमा आलु खेती गरिन्छ । कार्यालय प्रमुख पिताम्बर बस्नेतका अनुसार बर्खे आलु चार सय हेक्टर र हिउँदे आलु ७२२ हेक्टर क्षेत्रफलमा गरिन्छ ।